काठमाडौँ — नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न गर्नु पर्ने कामको सूची समेटिएको कार्ययोजनालाई छिट्टै अन्तिम रुप दिएर कार्यान्वयन गरिने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन कार्ययोजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको अर्थ मन्त्रालयले बताएको छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने कार्ययोजनाअनुसार कार्य गर्दैगर्दा आगामी दिनमा नेपाल ग्रे लिस्टमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न कानुनको कमी नभएको बताए । उनले इच्छाशक्ति लगाएर काम गर्ने हो भने नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न सकिने धारणा व्यक्त गरे । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताए ।
मुख्यसचिव एकनारायण अर्यालले सबै निकायबीच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताए । उनले प्रविधिलाई जोड दिएर कार्य योजनाअनुसार काम गर्दा नेपाल ग्रे लिस्टबाट बाहिर आउन सक्ने बताए ।
नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजनाअनुसार सुरुदेखि नै काम गर्न आवश्यक भएको बताए ।
बैठकमा सहभागीहरुले जोखिम मूल्यांकन, अन्तरनिकाय समन्वय, नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसूरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको भन्दै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए ।
नेपाल गत फागुन ९ गते फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको थियो ।
