नेपालमा उत्पादन हुने जाम, जेली, जुस, अचार, क्यान्डी, अदुवा, तरकारी, फलफूल, इन्स्टेन्ट नुडल्सको परीक्षणपछि खाद्यले जारी गर्ने प्रमाणपत्रलाई भारतले दियो वैधानिकता
काठमाडौँ — भारतमा अदुवा, अचार, जुस, तरकारीलगायत वस्तु निर्यात गर्दा अवरोध झेल्नुभएको छ ? अब चिन्ता लिनुपर्दैन । प्रमाणपत्र विवादमा अब भन्सार नाकामा सामान अलपत्र पर्ने छैनन् । निर्यात हुने वस्तु भन्सारमा रोकेर ल्याब परीक्षण गर्न कोलकाता, दिल्ली र लखनऊ पनि पुग्नुपर्ने छैन ।
भारत निर्यात हुने ९ वस्तुलाई भारतीय ल्याबले मान्यता दिएसँगै यस्तो सुविधा मिलेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागअन्तर्गत रहेको ‘नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला’ मा परीक्षणपछि जारी हुने प्रमाणपत्रलाई भारतले मान्यता दिएको हो ।
फुड सेफ्टी एन्ड स्ट्यान्डडर््स अथोरिटी अफ इन्डिया (एफएसएसएआई) र नेसनल एक्रिडिएटेसन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याबोरेटोरिज (एनएबीएल) ले खाद्यको ल्याबलाई पारस्परिक मान्यता दिएको हो । भारतले मान्यता दिएपछि अब निर्यातका क्रममा भन्सारमा हुने झन्झटिलो प्रक्रिया अन्त्य हुने विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए ।
‘भारतले दिएको मान्यता ठूलो उपलब्धि हो । अप्रिल ४ मा राजपत्रमा प्रकाशन भई भन्सारमा परिपत्र भइसकेको छ,’ कर्णले भने, ‘अब निर्यातमा हुने झन्झट अन्त्य हुन्छ । कोलकाता, दिल्ली, लखनऊ पुगेर ल्याब परीक्षण गरेर आउँदा एक महिनासम्म लाग्थ्यो, खर्च बढ्थ्यो । अब भन्सारमा रोकिने अवस्था रहन्न ।’
भारतलाई शंका लागेको अवस्थामा भने उसले परीक्षण गर्न सक्छ । भारतले मान्यता दिएका वस्तुमध्ये जुस, अदुवा, तरकारी र इन्स्टेन्ट नुडल्सको निर्यात उत्साहजनक छ । अब निर्यातमा थप सहजता आउने विभागका प्रवक्ता मोहन महर्जनको भनाइ छ । भारतले सन् २०१९ मा पनि सर्तसहित केही वस्तुलाई मान्यता दिएको थियो । अहिले ९ वस्तुको प्रमाणपत्रलाई मान्यता दिएको हो ।
अहिले २ सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकामा ६ सय ३० पुर्याइएको छ । विभागले दिएको आवेदनका आधारमा भारतीय खाद्य सुरक्षा निकायका टोलीले अडिट गरेका हुन् । सोही आधारमा ९ वस्तुलाई मान्यता दिइएको महर्जनको भनाइ छ ।
