पूर्वमा १० रुपैयाँ किलो पनि बिक्दैन टमाटर

कृषिबाटै विस्थापित हुने अवस्था आएको किसानको भनाइ

चैत्र २५, २०८१

नवराज सुवेदी

In the east, tomatoes are not even sold for 10 rupees per kilo

झापा — मेचीनगर नगरपालिका–२ गाडागल्लीका दिपेश दंगालको बारीबाट सातामा तीन सय क्रेट गोलभेडा (टमाटर) उत्पादन हुन्छ । डेढ विगाह जमिनमा व्यवसायिक टमाटर खेती गरेका उनले सातामा दुई पटक टिपेर बजार पुर्‍याउँछन् ।

 ५० को दशकबाट कृषिमा लागेका उनी पछिल्लो समय भने विस्थापित हुने अवस्थामा पुगेका छन् । ‘टमाटर फलाएर के गर्नु ? बजार छैन । यसपटक त लगानी नै उठ्ने अवस्था छैन,’ बारीमा भेटिएका उनले वेदना सुनाए, ‘ऋण खोजेर टमाटर टिप्ने, बोक्ने खेतालालाई ज्याला दिइरहेको छु, आम्दानीको त कुरै छैन ।’

कृषिमा भविष्य खोज्दै बैंकबाट ऋण लिएर उनले टमाटर खेती सुरु गरेका थिए । डेढ विगाहमा टमाटर लगाउन करिब ६ लाख रुपैयाँ खर्च भयो । जब उत्पादन सुरु भयो टमाटरले बजार नै पाएन । अहिले ऋण लिएको बैंकले ताकेता गरिरहेको उनी सुनाउाछन् । ‘बैंकले ताकेता गरेको गर्यै छ, लालपुर्जा नै लिलाम होला भन्ने डर छ,’ उनी थप्छन् । उनका अनुसार उत्पादित टमाटर चारआली वा बिर्तामोडमा रहेको कृषि मण्डीमा पुर्‍याउनुपर्छ । एक क्रेटमा २३ किलो टमाटर हुन्छ । मण्डी पुर्‍याउँदाको ढुवानी खर्च ५० रुपैयाँ लाग्छ ।

मण्डीमा अनलोडका लागि १० रुपैयाँ तिर्नुपर्छ भने बिक्री मूल्यको १० प्रतिशत रकम मण्डीलाई कमिसनका रुपमा बुझाउनुपर्छ । टमाटर टिप्ने खेतलाको खर्च छुट्टै छ । सातामा २० जना जति खेताला लगाउनुपर्छ, उनीहरुलाई दैनिक ५ सय रुपैयाँका दरले ज्याला दिनुपर्छ । यसरी अनेक खर्च व्यहोर्दै मण्डी पुर्‍याएको टमाटर प्रतिक्रेट दुई सयदेखि दुई सय ५० रुपैयाँका दरले बिक्री हुन्छ ।

‘अहिले त मण्डीले नै टमाटर नल्याउनु भनेको छ । यस्तो अवस्थामा किसानले के गर्ने ?,’ उनी भन्छन्, ‘खर्च कटाउँदा प्रतिकिलो ५ रुपैयाँ पनि हामीले पाउँदैनौं । कसरी ऋण तिर्ने ? काम लगाएकालाई कसरी ज्याला दिने ?’ बजारमा २५ रुपैयाँ किलो उपभोक्ता मूल्य रहेको टमाटर किसानले भने १० रुपैयाँमा हाराहारी पाइरहेका छन् ।

भाउ नपाउँदा टमाटर खेती गरेका अधिकांश किसानको अहिलेको अवस्था दंगालको भन्दा फरक छैन । मेचीनगर, बुद्धशान्तिलगायतका पालिकामा टमाटर उत्पादक किसानको बाहुल्य छ । अझ उत्तरी मेचीनगर–२ मा व्यवसायिक रुपमा टमाटर खेती गरेका किसान धेरै छन् । मेचीनगर २ मै पाथिभरा कृषि तरकारी उद्योग नै दर्ता गरेर कृषिमा होमिएका मध्येकी एक हुन् बिमला भुजेल ।

उनले दुई विगाह जमिनमा टमाटर लगाएकी छिन् । दुई विगाहमा टमाटर फल्ने बनाउन करिब ८ लाख खर्च भएको उनले बताइन् । ‘विभिन्न रोगबाट बचाउन औषधि छर्किन पर्यो, बोट ढल्छ कि भनेर भाटा बाँध्न खेताला लगाउनुपर्यो, मल बीऊ सबै गरेर उत्पादन गरेको फसलले बजार नपाउँदा कृषिबाट नै विस्थापित हुने अवस्थामा पुगेका छौं,’ भुजेल दम्पती सुनाउँछन् ।

भुजेल दम्पतीको बारीमा पुग्दा चार जना महिला टमाटर टिपिरहेका थिए भने कोही ओसार्दै थिए । लत्रिएका केही बोटलाई कसैले उठाएर भाटा लगाउने काम भइरहेको थियो । ‘धेरै फलेर ढलेका हुन् । बोटले दाना नै थाम्न सकेन,’ बिमलाले भनिन्, ‘यसरी फलेको देख्दा खुसी लाग्छ, तर बजार सम्झदा निराशा । राज्यले बजारको व्यवस्था गरिदिए साह्रै ठूलो गुन हुन्थ्यो ।’ भारतबाट टमाटर आयात हुँदा यहाँको उत्पादनले बजार नपाएको उनको बुझाई छ । राज्यले टमाटर आयात राकिदिए किसानलाई ठूलो राहत हुने उनी बताउँछिन् । ‘लगानी त डुब्ने नै भयो, जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था छ,’ उनी भन्छिन् ।

उत्तरी मेचीनगर अन्तर्गत साविक बाहुनडाँगी अन्तर्गतको यो जंगली हात्ती प्रभावित क्षेत्र हो । यहाँ दैनिकजसो नै जंगली हात्ती आउने भएकाले किसानलाई फसल जोगाउन हम्मे पर्छ । ‘हात्तीले खाइदिन्छ कि भन्ने अर्को पिर । अनेकन व्यवधानका बीच फसल तयार गर्दा बजार पाइदैन, कसले सुन्ने ? हामी किसानका कुरा,’ उनको दुखेसो छ । यहाँका किसानले खेतमा टमाटर रोप्छन् भने आलीमा सुपारीका बोट । जसले किसानको बारीलाई आकर्षक बनाएको हुन्छ ।

मेचीनगर–२ कै बौद्धमोडका पूर्णबहादुर खड्काले पनि चार लाख खर्चेर एक विगाह जग्गामा टमाटर लगाए । २०५७ सालदेखि व्यवसायिक कृषिमा होमिएका उनी अब भने कृषि कर्मकै विकल्प खोज्नुपर्ने मोडमा पुगेको बताउँछन् ।In the east, tomatoes are not even sold for 10 rupees per kilo

‘आजकल गाउँघरमा विदेश जान्छु भन्यो भने ऋण दिन्छन्, कृषि गर्छु भन्दा दिँदैनन् । समग्र गाउँसमाजले नै कृषिमा भविष्य देख्न छोडेको अवस्था छ,’ टमाटर टिप्दै गर्दा भेटिएका उनले गुनासो पोखे, ‘अनेक दुःख गरेर फलाए पनि बजार छैन । यो बजार चाहि कसको नियन्त्रणमा हुने रहेछ ?’ उनका अनुसार अहिलेको अवस्थामा खर्च कटाएर ४–५ रुपैयाँ प्रतिकिलो पनि किसानले पाउँदैनन् ।

‘बिउविजन किनेको, औषधि–विषादी, भाटा बाँधेकोलगायत खर्चको त कुरै छाडौं । रोपेदेखि फल्ने बनाउन एउटा बोटमा ३५ देखि ४० रुपैयाँ खर्च आउँछ,’ उनले भने, ‘एउटा बोटले ३ देखि साढे ३ किलो फल दिन्छ । टिपाई, ढुवानी, मण्डीलाई दिने कमिसन, अनलोड खर्च सबै कटाउँदा खेतालालाई ज्याला पनि ऋण खोजेर दिनु पर्छ ।’

व्यवसायिक कृषिमा अग्र स्थानमा पर्छ बुद्धशान्ति गाउँपालिका । जहाँ सयौं किसान कृषिमा जोडिएका छन् । यहाँ रहेको शान्तिनगर कृषि सहकारी संस्थाले मात्रै ३ विगाह जमिनमा टमाटर लगाएको छ भने संस्था मातहत रहेका अधिकांश सदस्यले टमाटर फलाउँछन् । यहाँ पनि बजारको अवस्था भने उस्तै नै छ । सहकारीका अध्यक्ष दिलनाथ काफ्लेका अनुसार बुद्धशान्ति–५ र ६ मा मात्रै ८० विगाह भन्दा धेरै जमिनमा टमाटर लगाइएको छ ।

जसको बजार बिर्तामोड र चारआली नै हो । किसानले गाडी रिजर्भ गरेर बिर्तामोड र चारआलीमा रहेको मण्डी पुर्‍याए पनि भाउ नपाउँदा निराशा बोकेर फर्किनुपर्ने अवस्था छ । ‘पारि (भारत) बाट टमाटर आएकाले यहाँको उत्पादनले बजार नपाएको हो । भारतीय सरकारले किसानलाई अनेकन सहुलियत दिएको छ, जसले गर्दा त्यहाँको टमाटर सस्तो पर्छ,’ सहकारीका अध्यक्ष काफ्ले भन्छन्, ‘यहाँ किसानलाई त्यस्तो सहुलियत छैन, भारतीय टमाटरसँग यहाँका किसान आफैले प्रतिस्पर्धा गर्न सक्दैनन्, आयात रोकियो भने किसानले बजार पाउँथे ।’ तीन वर्षयता सिजनमा मूल्य नपाएर सस्तो बेच्नु पर्दा लगानी उठाउनै मुस्किल भइरहेको किसानहरुको गुनासो छ ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लाभर ११ सय हेक्टर क्षेत्रफलमा टमाटर खेती गरिएको छ । जहाँ प्रतिहेक्टर २२ मेट्रिक टनका दरले उत्पादन हुन्छ । ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारी यतिबेला टमाटरको सिजन भएकाले र उत्पादन धेरै भएर बजार पाउन नसकेको बताउँछन् ।

यद्यपि अब एकपटक पानी परे टमाटरले उचित भाउ पाउन सक्ने उनले बताए । स्वदेशी किसानको उत्पादनले बजार नपाउँदा भारतबाट ठूलो मात्रामा टमाटर आयात भएको देखिन्छ । पूर्वीनाकास्थित मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै भारतबाट ४ करोड २७ लाख रुपैयाँ बराबरको टमाटर आयात भएको छ । जुन नेपाली बजारमा खपत भइरहेको छ ।

नवराज

Link copied successfully