नयाँ उद्योग दर्ता हुने दर घट्दै

चैत्र २५, २०८१

सुवास विडारी

Decreasing rate of registration of new industries

मकवानपुर — बागमती प्रदेशमा घरेलु तथा साना उद्योग खोल्ने क्रम निरन्तर घट्दो अवस्थामा रहेको छ । आर्थिक मन्दी र लगानीमैत्री वातावरण नहुँदा पछिल्लो तीन वर्षमा नयाँ उद्योग खोल्ने क्रम घटिरहेको हो ।

बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ६ हजार ५४३ घरेलु तथा साना उद्योग दर्ता भएका थिए । तर, चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म आइपुग्दा ४ हजार २५५ मात्रै नयाँ घरेलु तथा साना उद्योग दर्ता भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको उद्योग शाखा अधिकृत चौलाकान्ता वाग्लेका अनुसार अघिल्लो आवको तुलनामा चालु आवमा नयाँ उद्योग दर्ता हुनेको संख्यामा केही कमी आएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म सिन्धुली जिल्लामा १३२ वटा घरेलु तथा साना उद्योग नयाा दर्ता भएको उनले बताए ।

रामेछाप जिल्लामा ६१, दोलखामा १८१ र सिन्धुपाल्चोकमा ४० वटा घरेलु तथा साना उद्योग दर्ता भएको छ । काभ्रे जिल्लामा ३ सय ७०, भक्तपुर जिल्लामा १ हजार १२४ र ललितपुरमा ३५७ साना उद्योग दर्ता भएका छन् । 

घरेलु तथा साना उद्योग दर्ता हुने जिल्लामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १ हजार २५३ रहेको छ भने सबैभन्दा कम दर्ता भएको रसुवा जिल्लामा ३१ वटा मात्रै दर्ता भएका छन् । 

नुवाकोटमा १ सय, धादिङमा ९४, चितवनमा २ सय १३ र मकवानपुर जिल्लामा २ सय ९६ घरेलु तथा साना उद्योग मन्त्रालय मातहतका कार्यालय उद्योग तथा वाणिज्य कार्यालयहरुमा दर्ता भएका छन् भने ३ वटा उद्योग निर्देशानलयमा दर्ता भएको उद्योग शाखा अधिकृत वाग्लेले जानकारी दिए ।

‘उद्योगी–व्यवसायीले नयाँ उद्योग सञ्चालनका लागि आवश्यक कर्जा लिन सकिरहेका छैनन् । जसले गर्दा पनि नयाँ साना तथा घरेलु उद्योग दर्तामा प्रत्यक्ष असर देखियो’, उनले भने । उनका अनुसार समग्र मुलुकभरकै अर्थतन्त्रमा शिथिलता र लगानीमैत्री वातावरण नहुँदा धेरै उद्योग नथपिएका हुन् ।

बागमती प्रदेशको उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय मातहतमा उत्पादनमुलकमा ४२ हजार ४ सय ५० उद्योग रहेका छन् भने कृषि तथा वन पैदावारमा ८ सय ९, उर्जामूलकमा ६ र निर्माणतर्फ ७५ उद्योग छन् । 

यसैगरी पर्यटनतर्फ २ सय ११, सूचना, प्रसारण तथा सञ्चार प्रविधितर्फ २४, सेवामूलकतर्फ ११ सय ४४ र खनिजतर्फ १२ उद्योग रहेको मन्त्रालयले जनाएको छ । उक्त उद्योगहरुले करिब डेढ लाख जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको उद्योग शाखा अधिकृत चौलाकान्ता वाग्लेले जानकारी दिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully