सुकुटेमा र्याफ्टिङले तानिँदै पर्यटक, दिनहुँ चार सयभन्दा बढी पाहुना
सिन्धुपाल्चोक — भोटेकोशी र सुनकोशी करिडोर क्षेत्रका होटल र रिसोर्ट पर्यटकले खचाखच हुन थालेका छन् । गर्मी सुरु भएलगत्तै साहसिक खेल ‘एडभेन्चर र्याफ्टिङ’ मा चिनिएको सुनकोशी नदीको सुकुटे क्षेत्रमा पर्यटकको घुइँचो लाग्न थालेको हो ।
‘र्याफ्टिङ’ गर्न आउने पर्यटकको संख्या अहिले दोब्बर भएकाले यहाँका सबै रिसोर्ट व्यस्त रहेको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिं थापाले जनाए । ‘दिनहुँ चार सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटक र्याफ्टिङका लागि आउन थालेका छन्, सबै रिसोर्ट–होटललाई भ्याइनभ्याइ छ,’ उनले भने ।
जाडो सकिएलगत्तै एडभेन्चर र्याफ्टिङको सिजन हालै सुरु भइसकेकाले पर्यटकको संख्या दिनहुँ बढ्ने अनुमान गरिएको छ । ‘र्याफ्टिङ’ ले लोभिएर दिनहुँ एक रिसोर्टमा न्यूनतम ५० आन्तरिक र २० बाह्य पर्यटक आउने गरेको थापाको भनाइ छ । र्याफ्टिङ र क्यानोनिङ एडभेन्जरको मनोरञ्जन गर्न सिन्धुपाल्चोकमा साता दिनमा दुई हजारसम्म पर्यटक भित्रिएका छन् ।
काठमाडौंदेखि युरोप, अमेरिकालगायत मुलुकबाट आउने पर्यटक सुनकोशीमा र्याफ्टिङका लागि यहाँ पुग्ने गरेका हुन् । यसबाहेक माउन्ट बाइक राइडिङदेखि साहसिक खेल मानिने बन्जीजम्पलाई पर्यटकले लक्ष्य बनाएका हुन्छन् । ‘शुक्रबार र शनिबार यहाँका रिसोर्ट पूर्ण रूपमा भरिने गरेकाले पर्यटक पहिल्यै बुकिङ गरेर आउने गरेका छन्,’ सुकुटे रिभर फन रिसोर्टका पर्यटन व्यवसायी ललित गिरीले भने । गर्मी सिजनमा यहाँ पर्यटकको भीड लाग्ने गरेको हो ।
विदेशी र नेपाली पर्यटकको भीड लाग्ने कारण यहाँ सामूहिक रूपमा आएर रमाइलो गरेका नुवाकोटका सविन पाण्डेले एक दर्जन साथीसहित आइतबार सुकुटेमा बिताएर ‘र्याफ्टिङ’ सहित बगर बासको आनन्द लिए । बाह्रबिसे नगर र त्रिपुरासुन्दरी गापाभरबाट जम्मा भएर २० पूर्वसहपाठीले यहाँ पुराना समय सम्झिए ।
सुनकोशी र भोटेकोशी किनारामा मात्रै र्याफ्टिङसहितका सात रिसोर्ट सञ्चालनमा छन् । जिल्लाभर होटल र रिसोर्ट १६ वटा रहेको नेपाल नाराले जनाएको छ । २०७२ भूकम्पअगाडि जिल्लाभर कोशी किनारामा रहेका रिसोर्टमा मात्रै सात लाख पर्यटक आएका थिए । भूकम्प र परकम्पका कारण ध्वस्त यहाँका होटल र रिसोर्ट अरनिको राजमार्ग छेउका बन्देउदेखि सुकुटे क्षेत्रसम्मका सबै होटल पुरानो अवस्थामा आइसकेका छन् ।
पर्यटक सिन्धुपाल्चोक आउनुमा प्रमुख कारण र्याफ्टिङ मोह नै रहेको सुनकोशी बिच रिसोर्टका सञ्चालक अञ्जन खड्काले बताए । ‘भूकम्पपछि ३ लाख पर्यटक जलपर्यटनका लागि सिन्धुपाल्चोक भित्रिएका छन्,’ उनले भने । जल पर्यटनले गर्दा यहाँ मात्रै झन्डै १० हजारले रोजगारी पाएको उनले जनाए । साहसिक खेल प्याराग्लाइडिङ, क्यानोनिङ, र्याफ्टिङ, माउन्टेन बाइक राइडिङ, ट्रेकिङ, सफारी, टुर, टिकेटिङदेखि साहसिक मानिएको बन्जीजम्प गर्न पर्यटक नेपाल आउने गरेका छन् ।
