लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

4th National Conference of Accounting Practitioners from Tuesday

काठमाडौँ — लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि सुरु हुने भएको छ । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको सम्मेलन आयोजना हुन लागेको आयोजक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले जानकारी दिएको छ ।

कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पाँच प्राविधिक तथा दुई पुरकसहित कुल ७ सत्र सञ्चालन हुँदैछन् । कर प्रणाली र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणका लागि गहन छलफलमार्फत उपयुक्त नीति निर्माण, पारदर्शिता  र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको आईक्यानले जनाएको छ ।

सम्मेलनमा लेखा पेसाको उन्नति र आर्थिक विकासमा समेत योगदान पु‍र्‍याउन मद्दत पुग्ने आयोजकको दाबी छ । ७ सत्रमा ३५ वक्ता सहभागी हुनेछन् । ४ जनाले प्रस्तुति दिनेछन् । पाँच जना अन्तर्राष्ट्रिय प्रतिनिधिसमेत उपस्थित हुने आयोजकले बताएको छ । सम्मेलनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गरी करिब एक हजारको सहभागिता रहने अनुमान गरिएको छ ।

मंगलबार हुने उद्घाटन कार्यक्रममा आईक्यानका अध्यक्ष प्रविनकुमार झा र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, डेपुटी महालेखा परीक्षक वामदेव शर्मा अधिकारी र दक्षिण एसियाली लेखा महासंघ अध्यक्ष अशाफाक युसुफ तोला समेत उपस्थित रहने बताइएको छ । 

कान्तिपुर

Link copied successfully