काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी व्यवसाय स्थानीय लगानीकर्तालाई बेच्न वा अमेरिकामा प्रतिबन्ध खेप्नको लागि दिएको समयसीमा ७५ दिन बढाएका छन्।
आफूले शासन सम्हाल्नेबित्तिकै टिकटक विवादमा समाधान खोज्ने भन्दै तत्कालीन प्रतिबन्ध अढाइ महिनाका लागि स्थगन गरेका ट्रम्पले पुन: म्याद थपको घोषणा गरेका हुन् ।
उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत टिकटकका लागि ७५ दिन समय थपेको जानकारी दिएका छन् । उनले लेखेका छन्, 'हामीले बाइटडान्स तथा अन्य सरोकारवालाहरूसँगको वार्तामा उल्लेखनीय प्रगति गरेका छौँ । यो थप समयले आवश्यक अनुमतिहरू पूरा गर्न तथा करोडौं अमेरिकी प्रयोगकर्ताहरूका लागि टिकटकलाई निरन्तर सञ्चालनमा राख्न मद्दत गर्नेछ ।'
पोस्टमा ट्रम्पले आफूहरूले चीनमाथि लगाएको अतिरिक्त कर (ट्यारिफ)को बचाउ गर्दै सो घोषणाका कारण चीन खुसी नरहेको तर बलियो अर्थतन्त्र र राष्ट्रिय सुरक्षाको लागि ट्यारिफजस्ता निर्णय आवश्यक रहेको उल्लेख गरेका छन् । उनले चीनसँग कुरा गरेर यस विषयलाई टुङ्गोमा पुर्याउने उल्लेख गरेका छन् । ट्रम्पले दिएको पहिलो समयसीमा शनिबारबाट सकिएको थियो ।
टिकटकमाथिको सम्भावित अमेरिकी कारवाही लामो समयदेखि चलिरहेको विवाद हो । यो पहिलो पटक सन् २०१९ मा अमेरिकी वैदेशिक लगानी समितिले बाइटडान्सको म्युजिकली खरिद प्रकृयाबारे छानबिन थालेसँगै सुरु भएको थियो । त्यसपछि सन् २०२० मा ट्रम्पले कार्यकारी आदेशमार्फत टिकटकलाई बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई नबेच्ने हो भने अमेरिकामा प्रतिबन्ध गर्ने घोषणा गरेका थिए । तर यसबारे उठेका कानुनी चुनौतीहरू पछि अदालतले सो प्रतिबन्धलाई स्थगन गरिदिएको थियो ।
ट्रम्पको अघिल्लो कार्यकालमै शुरू भएको चीन-अमेरिका व्यापार युद्ध र टिकटकमाथिको निगरानीलाई जारी राख्दै उनीपछिको बाइडेन सरकारले एउटा कानुन नै जारी गरेर अमेरिकामा टिकटकको सञ्चालन कि त अमेरिकी स्वामित्वकर्ताको सञ्चालनमा हुनुपर्ने नत्र प्रतिबन्ध खेप्न निर्देशन दिएको थियो । अमेरिकी सिनेटमै गएर बयान दिने लगायत क्रममा टिकटक नेतृत्वले बारम्बार आफूहरूले कुनै कानुन उल्लंघन नगरेको दाबी गर्दै आएको छ । तर वाशिङ्टन डीसीले झन्डै १७ करोड अमेरिकीको वैयक्तिक डेटा दुरूपयोग हुनसक्ने र राष्ट्रिय सुरक्षामा जोखिम ल्याउनसक्ने लगायतका आशंका व्यक्त गर्दै आएको छ ।
आफ्नो अघिल्लो कार्यकालमा टिकटकप्रति अत्यन्तै नकारात्मक रहेका ट्रम्पले नयाँ कार्यभार सम्हाल्दासम्म टिकटकलाई सकेसम्म बन्द हुन नदिने र आफूले त्यसको लागि समाधान निकाल्ने अभिव्यक्ति दिँदै आएका छन् । ट्रम्पका उपराष्ट्रपति जेडी भान्स लगायत उच्च नेतृत्वले सार्वजनिक रूपमै टिकटकको अमेरिकी व्यवसायसम्बन्धी विवाद सहमतिको नजिक पुगेको बताउने गरेका छन् ।
झन्डै १४ करोड अम्नेरिकीले नियमित प्रयोग गर्ने मानिएको टिकटक हाल अमेरिकामा अत्यधिक लोकप्रिय एप बनेको छ । यसले लाखौं प्रयोगकर्ताहरूलाई छोटो भिडियो सामग्री निर्माण तथा आफ्ना व्यवसाय प्रवर्द्धन र रोजगारीका अवसरसमेत दिएको कम्पनीको दाबी छ । आफूले चिनियाँ सरकारसँग कुनै अमेरिकी प्रयोगकर्ताको डेटा नबाँडेको बाइटडान्सले स्पष्ट पार्दै आएको छ । अमेरिकी संविधानअनुसार पनि सरकारको प्रतिबन्धसम्बन्धी निर्णयले वाक स्वतन्त्रताको हक उल्लंघन गर्ने हुँदा बरू आफू प्रतिबन्ध सहन तयार रहेको पनि दोहोर्याउँदै आएको छ ।
अमेरिकी सरकारले दिएको संकेत अनुसार अमेजन, ओर्याकल, माइक्रोसफ्ट, जुम, ब्ल्याकस्टोन, एपलभिनजस्ता कम्पनीहरूले एक्लै र संयुक्त रूपमा टिकटकको अमेरिकी व्यवसाय खरीद गर्न रूची देखाएका छन् । रेडिटका सह-संस्थापक एलेक्सिस ओहानियन, आइरिस-अमेरिकी व्यवसायी फ्र्यांक म्याककोर्ट, युट्युबर जिम्मी डोनाल्डसन अर्थात् मिस्टर बिस्ट, ओन्लिफ्यान्सका संस्थापक टिम स्टोकली, सर्च इन्जिन पर्प्लेक्सिटी लगायत थुप्रै व्यवसायीले पनि एक्लै वा संयुक्त रूपमा अमेरिकी व्यवसाय खरीद गर्न खोजेको बीबीसीले जनाएको छ । हालको समयसीमा थपले यस्तो सम्भाव्य सम्झौतालाई अघि बढाउन र कागजी प्रकृया पूरा गर्न सघाउने ट्रम्प प्रशासनको दाबी छ ।
अमेरिकी सरकारको निर्देशनमा बाइटडान्सले टिकटकको अमेरिकि व्यवसायमा २० प्रतिशतभन्दा बढीको स्वामित्व राख्न नपाइने उल्लेख छ । टिकटकले आफूहरू अमेरिकामा कसरी एपको भविष्य जारी राख्ने भन्ने छलफलमै रहेको तर कुनै निर्णय भइनसकेको प्रतिक्रिया दिएको छ ।
कम्पनीका प्रवक्ताले आफूहरू व्हाइट हाउससँग छलफलमा रहेको स्वीकार गरेका छन् । प्रवक्ताले आफ्नो विज्ञप्तिमा भनेका छन्, 'कुनै पनि सहमतिमा पुग्न सकिएको छैन किनभने त्यसमा धेरै विषयहरू सुल्झिन बाँकी छन् । कुनै पनि किसिमको सहमतिका लागि चिनियाँ सरकारबाट अनुमति लिनुपर्ने हुन्छ ।' आफूहरू राष्ट्रपति ट्रम्पसँग मिलेर दीर्घकालीन समाधानको प्रयत्नमा रहेको कम्पनीको दाबी छ ।
