साँगा-धुलिखेल सडक : पुलबजार क्षेत्रमा विस्तार कार्य रोकियो

दुई वर्षमा जम्मा ४५ प्रतिशत मात्रै भौतिक प्रगति, समयमै निर्माण सकिनेमा आशंका

चैत्र २४, २०८१

ज्योती श्रेष्ठ

Sanga-Dhulikhel Road: Extension work stopped in Pulbazar area

काभ्रे — निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको पुलबजार क्षेत्रमा विस्तार कार्य ठप्प भएको छ । एक महिनाअघिदेखि पुलबजार क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तार कार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णु खनालले जानकारी दिए।

 उनका अनुसार, निर्माणाधीन सडक खण्डको पुलबजार क्षेत्रमा सेन्टर लाइनको विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि एक महिनादेखि त्यहाँ विस्तारको काम रोकिएको हो।

यस विषयमा नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाएर चाँडै नै विस्तार कार्यलाई अघि बढाउने तयारी भइरहेको उनले बताए । उनका अनुसार, बनेपाको पुलबजार क्षेत्रमा केही अवरोध भएको छ । अन्य स्थानमा भने काम तीव्र रुपमा नै भइरहेको छ ।

‘अहिले धुलिखेल क्षेत्रमा कामको गति बढेको छ,’ उनले भने, ‘त्यहाँ एक किलोमिटर क्षेत्रमा वाल, ड्रेन, पेवमेन्टको काम सकेर , अहिले सडक कालोपत्र गर्ने तयारी भइरहेको छ ।’ सडक विस्तार कार्यमा स्थानीयको अवरोधसँगै विभिन्न स्थानमा घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार गर्नुपर्ने, अप्टिकल फाइबरका लाइन, हाइटेन्सन पोलहरु हटाउनुपर्ने पनि समस्याहरु पनि रहेको निर्माण व्यवसायी लामा कन्सट्रक्सन कम्पनि लिमिटेडका इन्जिनियर रविन्द्र श्रेष्ठले जानकारी दिए।

‘साँगा–धुलिखेल सडक अर्न्तगत नासिकास्थानमा २ वटा भैंसीपाटीमा ३ वटा , जनागालमा २ वटा, बुडोलमा १ वटा र २८ किलोमा १ वटा गरेर ९ वटा घर–टहराहरु हटाउनुपर्नेछ,’ उनले भने, ‘बिजुलीको पोल सार्ने काम ७० प्रतिशत सकियो, अब ३० प्रतिशत बाँकी छ, १ ठाउँमा हाइटेन्सनको पोल रहेको छ, त्यसलाई पनि सार्न पर्नेछ ।’

Sanga-Dhulikhel Road: Extension work stopped in Pulbazar area

उनका अनुसार, अहिले धुलिखेलदेखि बाँसघारीसम्म कामको प्रगति राम्रो छ । २८ किलो, बुडोल, बनेपा र पुलबजार क्षेत्रमा भने स्थानीय अवरोध, घर–टहरा हटाउनुपर्ने लगायतका विविध समस्या देखिएको उनले बताए ।

उनका अनुसार, बनेपाको पुलबजारमा स्थानीयको अवरोधका कारण एक महिनादेखि काम रोकिएको छ । यी समस्याहरुले गर्दा पनि तोकिएको समय सीमामा काम सम्पन्न नहुने उनले बताए । विस्तारको लागि यस आर्थिक वर्षसम्मको लागि बजेटको समस्या नहुने उनको भनाइ छ । 

साँगा–धुलिखले सडकखण्डमा विस्तारको दुई वर्ष बितिसक्दा अहिलेसम्म ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जानकारी दिएको छ । तीन वर्षभित्र पूरा हुने गरी दुई वर्षअघि सडक विस्तार कार्य थालिएको थियो । दुई वर्षमा जम्मा ४५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएकाले समयमै निर्माण सकिनेमा आशंका बढेको छ ।

६ लेनको सडक विस्तार कार्यका लागि ८ किलोमिटरको पहिलो खण्ड साँगा–धुलिखेल सडक खण्डका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैँया बजेट बिनियोजन भएको थियो । उक्त खण्ड विस्तार ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ । विस्तार योजनाअन्तर्गत दोस्रो खण्डमा ७.५ किलोमिटरको दोस्रो खण्ड सूर्यविनायक–साँगा सडक खण्डका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको आयोजनाले जनाएको छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully