पोखरामा आलु महोत्सव सुरू 

करिब २० टन आलुको पहाड, प्रतिकेजी ४२ रुपैयाँ

चैत्र २४, २०८१

अनुप पौडेल

Potato festival started in Pokhara

कास्की — पोखरामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरू भएको छ । पोखरा महानगरपालिका–२५ स्थित विष्णुपादुका क्लबको आयोजनामा ‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ : आलु एक परिकार अनेक’ भन्ने मूल नारासहित आइतबारदेखि महोत्सव सुरू भएको हो । 

महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । उनले कृषि उपजलाई केन्द्रमा राखेर महोत्सव गरिनु प्रशंसनीय भएको बताए । पोखरामा तरबुजा खेती सम्भव भएको र आलुको अन्तर्राष्ट्रिय सम्भावना राम्रो रहेको उनले बताए । पोखराका सबै वडामा उत्पादनअनुसार पकेट क्षेत्र घोषणा गर्ने योजना मेयर आचार्यले सुनाए । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी सचिव बासुदेव रेग्मीले खेतीयोग्य जमिनमा घडेरी बन्नु दुःखद भएको बताए । हेमजाको परिचय नै आलु भएको उल्लेख गर्दै उनले उत्पादन वृद्धितर्फ ध्यान दिन स्थानीयलाई आग्रह गरे । 

महोत्सव उद्घाटनकै अवसरमा हल गोरू पाल्ने किसानलाई सम्मान गरियो । स्थानीय विजय रानामगर, हरिकुमार परियार र गंगाबहादुर कार्कीलाई १०/१० हजार रुपैयाँसहित सम्मान गरिएको हो । हेमजामा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै भाषाविद् मुकुन्दशरण उपाध्यायलाई पनि सम्मान गरियो । 

वैशाख ३ सम्म चल्ने महोत्सवमा आलु प्रतिकेजी ४२ रुपैयाँमा खरिद गर्न पाइने क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव स्थलमा करिब २० टन आलुको पहाड बनाइएको छ । उक्त पहाडबाट महोत्सव अवधिभर आलु खरिदबिक्री हुने अध्यक्ष श्रेष्ठले बताए । बजारमा हाल आलुको मूल्य प्रतिकेजी ५५ रुपैयाँसम्म छ । 

महोत्सवमा आलु र अन्य तरकारीको खरिदबिक्री, आलुका परिकार बिक्री, माटो तथा बोटविरुवा परीक्षण, कृषि यन्त्र प्रदर्शनी तथा रोगको निदानबारे जानकारी र कृषक तथा कृषिसम्बन्धी सांस्कृतिक कार्यक्रम हुनेछ । 

अनुप

Link copied successfully