२३ दिनदेखि पानीट्यांकीमा रोकिएको ३४ ट्रक प्लाइउड नेपालतर्फ फर्काइँदै

भारतीय भन्सार कार्यालयले भने ब्युरो अफ इन्डियन स्ट्यान्डर्स नभएको भन्दै नेपाली सामानलाई नाकामै रोकिदिएको हो, गत फागुन २७ मा प्लाइउड लिएर ती ट्रक भारत गएका थिए 

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

34 truckloads of plywood stopped in the water tank for 23 days are being returned to Nepal

झापा — नेपालबाट भारततर्फ निर्यात हुने क्रममा भारतको पानीट्यांकीस्थित भन्सारमा तीन सातादेखि ३४ ट्रक नेपाली प्लाइउड रोकिएका छ । २३ दिनदेखि प्लाइउड बोकेका ती ट्रक पूर्वीसीमा काँकडभिट्टापारि पानीट्यांकीमा रोकिएका हुन् । गत फागुन २७ मा प्लाइउड लिएर ती ट्रक भारत गएका थिए । 

भारतीय भन्सार कार्यालयले भने ब्युरो अफ इन्डियन स्ट्यान्डर्स (बीआइएस) नभएको भन्दै नेपाली सामानलाई नाकामै रोकिदिएको हो ।

अहिले ८ करोड ५० लाख मूल्य बराबरको नेपाली प्लाइउड भारततर्फ नाकामै रोकिएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईंले बताए । बीआईएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बीआईएस प्रमाणित हुनुपर्ने नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनको निर्यात प्रभावित बनेको उनको भनाइ छ । 

यस क्रममा भारततर्फ रोकिएको नेपाली सामान निर्यातको व्यवस्था मिलाइदिन नेपाल तथा भारत दुवैतर्फ पहल गरिए पनि सहज गरिदिने आश्वासन मात्रै प्राप्त गरेको प्रसाईंले जनाए । ‘नेपाल सरकार उद्योग मन्त्रालय, भारतीय दूतावासलगायत निकायसँग विभिन्न चरणमा समन्वय गर्‍यौं । भारतमा पनि भारतीय भन्सार हुँदै कोलकातासम्म नै प्रयास गर्‍यौं,’ संघका अध्यक्ष प्रसार्इंले भने, ‘तर यो गभर्मेन्ट टु गभर्मेन्ट (सरकार–सरकार) को मामिला हो भन्ने जवाफ पायौं ।’

नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई राजस्वसमेत तिरिसकेको प्रसाईंले बताए । कर तिरिसकेको एक वर्ष नाघिसक्दा पनि सामान निर्यातको व्यवस्था मिलिसकेको छैन । काँकडभिट्टा मात्र नभई नेपालका अरू नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्‍याइरहेको उनको भनाइ छ । 

अब भने भारतले बीआईएस नवीकरण सुरु गरेको जनाइएको छ । केही उद्योगको बीआईएस नवीकरण भएको र अरू उद्योगको पनि आउने क्रममा रहेको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए । 

१० उद्योगले बीआईएस प्राप्त गरेका छन् भने ३७ उद्योग प्राप्त गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । भारतको पानीट्यांकीमा रोकिएको प्लाइउडका सन्दर्भमा भने रोकिएका ट्रकलाई नेपालतर्फ नै फर्काउने तयारी भइरहेको उनले जनाए ।

कान्तिपुर

Link copied successfully