नेप्सेमा झिनो अंकको वृद्धि, पौने ८ अर्बको कारोबार

बिहीबार नेप्से ३.३५ अंकले बढेर २७ सय ३ मा बन्द, ९३ कम्पनीको सेयर मूल्य बढ्यो, १५१ को घट्यो 

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

A slight increase in NEPSE, a turnover of 8 billion

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३.३५ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव १२ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ७ सय ३.३९ बिन्दुमा उक्लिएको हो । नेप्से बुधबार २३.८६ अंकले बढेर २ हजार ७ सय बिन्दुमा उक्लिएको थियो ।

बिहीबार दिउँसो १२.२४ बजे २ हजार ७ सय ३२.४९ मा पुगेको नेप्से कारोबार बन्द हुँदा घटेर २ हजार ७ सय ३ मा ओर्लेको हो ।

उक्त दिन कुल ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको मूल्य घट्यो । बिहीबार ६९ हजार ८९ पटकको सेयर किनबेचबाट ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन कुल १ करोड ५५ लाख २ हजार ९ सय ९८ कित्ता सेयर किनबेच भए । 

बैंकिङ, जलविद्युत्, निर्जीवन बिमा र अन्यबाहेक बाँकी सबै उपसमूहको परिसूचक घट्यो । यसअनुसार बैंकिङ उपसमूहको परिसूचक १३.१३, जलविद्युत्को १.३८, निर्जीवन बिमाको ७२.४९ र अन्य ३५.४७ अंकले बढे । तर, जीवन बिमा उपसमूहको परिसूचक ९०.२०, व्यापारको ८१.२२, उत्पादन तथा प्रशोधनको ७०.२४ र फाइनान्स कम्पनीको ४१.९७ अंकले घटेको नेप्सेले जनाएको छ ।

बिहीबार धेरै कमाउने कम्पनीमध्ये सबैभन्दा अघि ग्रिन भेन्चर्स लिमिटेड रह्यो । यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो । सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ६.९५, राधी विद्युत् कम्पनीको ४.९०, एनएलजी इन्स्योरेन्स कम्पनीको ४.६३, नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ को २.७५, युनिभर्सल पावर कम्पनीको २.७३ प्रतिशतले सेयर मूल्य बढ्यो ।

हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य २.७०, नेपाल रि–इन्स्योरेन्स कम्पनीको २.२७, सानिमा डिबेञ्चर २०८९ को २ र बीओके डिबेन्चर २०८६(क) को २ प्रतिशतले बढेको नेप्सेले बताएको छ । 

उक्त दिन उपकार लघुवित्त, विन नेपाल लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, बोटलर्स नेपाल (बालाजु), कुमारी सबल योजना, एनआईबीएल स्टेबल फन्ड, बलेफी हाइड्रोपावर, गुराँस लघुवित्त, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले धेरै गुमाए । 

कारोबारका आधारमा हिमालयन रि–इन्स्योरेन्स सबैभन्दा अघि छ । यो कम्पनीको ७२ करोड ३२ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल रि–इन्स्योरेन्स कम्पनीको ५५ करोड ९९ लाख २२ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोड ९७ लाख ९५ हजार र हिमालयन पावर पार्टनरको ३४ करोड २ लाख ४९ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

राधी विद्युत् कम्पनीको ३२ करोड ८७ लाख २२ हजार, सीईडीबी होल्डिङ्सको २३ करोड ७६ लाख ५६ हजार, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १८ करोड ४२ लाख ६९ हजार, माउन्टेन इनर्जी नेपालको १६ करोड ५० लाख ७१ हजार, ङादी पावर ग्रुपको १५ करोड ४८ लाख ९० हजार र कुमारी बैंकको १४ करोड ७६ लाख ७८ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully