पर्यटन, व्यापार र लगानी प्रवर्द्धन गर्न नेपाल र थाइल्यान्डका निजी क्षेत्रबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच सहकार्यको तथा व्यापार अभिवृद्धि गर्न नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

MoU between private sector of Nepal and Thailand to promote tourism, trade and investment

काठमाडौँ — मुलुकका निजी क्षेत्रले पर्यटन, व्यापार र लगानी प्रवर्द्धन गर्न थाइल्यान्डका विभिन्न निजी क्षेत्रसँग समझदारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ थान सिनावात्राको उपस्थितिमा नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले थाइल्यान्डका विभिन्न निजी क्षेत्रसँग समझदारी गरेका हुन् । 

महासंघ र थाइल्यान्डको थाई चेम्बर अफ कमर्स एन्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्य तथा व्यापार अभिवृद्धि गर्न समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाई ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरे । समझदारीले नेपाल र थाइल्यान्डबीच व्यापारिक सम्बन्ध सुदृढ गर्ने, आर्थिक सहकार्यलाई प्रवर्द्धन गर्ने तथा व्यापार र लगानी विस्तारका लागि संरचित रूपरेखा तयार गर्ने लक्ष्य राखेको जनाइएको छ । 

दुई देशबीचको व्यापारिक सहकार्यलाई थप मजबुत बनाउने र आर्थिक सहकार्यलाई विस्तार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको महासंघले बताएको छ । दुवै पक्षले व्यापार प्रवर्द्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान र औद्योगिक सहकार्यलाई समर्थन गर्ने महासंघको प्रतिबद्धता छ । व्यापार मेला, व्यावसायिक फोरम र विशेष आर्थिक कार्यक्रममा सहभागितालाई प्रोत्साहन गर्ने विषय समझदारीपत्रमा समावेश छ । 

समझदारीपत्रमा हस्ताक्षरपछि महासंघका अध्यक्ष ढकालले नेपाल र थाइल्यान्डबीच लगानी एवं व्यापार विस्तारको थप ढोका खुलेको प्रतिक्रिया दिए । थाई ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुल थाई व्यवसायी नेपालसँग लगानी र व्यापार विस्तार गर्न इच्छुक रहेको जनाए । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल बिम्स्टेकको अवसर पारेर गरिएको यो समझदारीपत्र तीन वर्षसम्म लागू हुने महासंघको भनाइ छ । 

परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन तथा सहकार्यसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ । दुई देशका निजी क्षेत्रबीच लगानी प्रवर्द्धन, आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारका लागि गरिएको समझदारीपत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र महासंघका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका हुन् । 

लगानी तथा व्यापार प्रवर्द्धनसँगै आर्थिक तथा व्यापारसम्बन्धी अध्ययन, अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी र नीतिगत विषयमा जानकारी आदानप्रदानलगायत सहकार्य गर्न दुई संस्थाबीच समझदारी भएको हो,’ परिसंघद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य भएकाले यो समझदारीले थाइल्यान्डबाट लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालले जनाए । ‘लगानी प्रवर्द्धनका लागि सरकारले कानुनी सुधार गरेको छ, जसबाट लगानीकर्ताले फाइदा लिन सक्नेछन्,’ उनले भने । 

MoU between private sector of Nepal and Thailand to promote tourism, trade and investment

नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यका लागि पनि समझदारी भएको छ । समझदारीपत्रमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाइल्यान्डका अध्यक्ष चाई अरुनानोनडिचाईले हस्ताक्षर गरे । दई मुलुकबीच पर्यटन प्रवर्द्धन, नागरिक उड्डयन एवं नेपालको विभिन्न क्षेत्रमा सांस्कृतिक प्रवर्द्धनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल र थाइल्यान्डका पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन गर्दै संयुक्त रूपमा बजार प्रवर्द्धनात्मक अभियान, नागरिक उड्डयनको क्षेत्रमा संयुक्त सहकार्य, सम्पदा र संस्कृतिको आदानप्रदान, व्यापार एवं लगानी प्रवर्द्धन एवं क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने गरी समझदारी भएको हो । यसका लागि संयुक्त कार्यदल गठन गर्ने विषयमा समेत सहमति भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकीय गतिविधि बढाउन उक्त सम्झौता महत्त्वपूर्ण भएको अध्यक्ष अग्रवालले जनाए । 

नेपालको जनता एग्रो एन्ड फरेस्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच पनि सम्झौतामा हस्ताक्षर भएको छ । जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्य भएको हो । सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष कृत वोन–इनल र जनता एग्रो एन्ड फरेस्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे । 

MoU between private sector of Nepal and Thailand to promote tourism, trade and investment

नेपाली कृषि क्षेत्रको दिगो विकास, नयाँ कृषि विधि र नेपाली कृषकहरूको जीवनस्तर सुधार्ने उद्देश्य राखिएको छ । जनता एग्रोले नेपालमा गरिरहेको जैविक खेतीमा नवीनतम आधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको हेरचाह गर्ने नव रणनीतिहरू, फसल काट्ने नयाँ–नयाँ तरिका, उत्पादन तथा गुणस्तर वृद्धि गर्नेलगायत क्षेत्रमा सहकार्य भएको हो ।

‘यो साझेदारी नेपालको समग्र कृषि क्षेत्रमा आमूल परिवर्तन लागि महत्त्वपूर्ण सुरुवात हो । विश्वविद्यालयको मूल्यवान् विशेषज्ञता तथा दक्षताले हामीलाई हाम्रा कृषकहरूलाई कृषि उपकरण उपलब्ध गराउनमा मद्दत गर्नेछ, जसले उत्पादनमा वृद्धि हुनुका साथै नेपालको कृषि क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउनेछ,’ जनता एग्रो एन्ड फरेस्ट्रीका अध्यक्ष पवनकुमार गोल्यानले भने ।

कान्तिपुर

Link copied successfully