सिन्धुपाल्चोक — पर्वतारोहण र हिमाली पर्यटन यात्रामा चासो राख्नेका लागि जुगल गाउँपालिकाको शीर जुगल हिमश्रृंखला खुब परिचित छ । जुगल गाउँपालिका–३ मा रहेको ४ हजार ५ सय मिटरको उचाईमा रहेको हिमालको आधार शिविर ने–पेमासाल–बुम्बाशेर्बुर् झनै प्रख्यात छ ।
तन्नेरी पुस्ताका लागि यो शिखरको मनमोहक काख तालिमस्थल बन्दै आएको छ । एक साताअघि जुगलको आधार शिविरमा स्थानीय १० जना युवालाई पर्वतारोहणसम्बन्धी आधारभूत तालिम दिइएको छ ।
जुगल गाउँपालिकाकाको आयोजना र ‘ईक्वाइटर नेपाल ट्रेक एक्स्पेडिशन, इन योर हान्डस’को सहयोगमा तालिम दिइएको हो । जुगल पर्यटन समितिका संयोजक मिलन तामाङका अनुसार पहिलो पटक आयोजित यस तालिममा जुगल गाउँपालिकाभरबाट प्रतिनिधित्व हुनेगरी यसक्षेत्रमा चासो राख्ने दश युवा छानिएको थियो ।
‘तीन साताको यो तालिमको दुई साता यहाँको प्रसिद्ध तिर्थ मानिने छिन्दाङदेखि बेसक्याम्पसम्म पर्वतारोहण र यसको सिपबारे व्यवहारिक अर्थ पनि सिकाइएको छ,’ उनले भने । हिमपातले ढाकेको यसभेगमा जानुअघि रक क्लाइम्बिङबारे अभ्यास गराएर योग्य भएका सहभागीलाई हिमक्षेत्रमा लगिएको उनले जनाए ।
सहभागीलाई जुगल हिमाल मात्र देखाइएन् ,सिन्धुपाल्चोक जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृतिबारे पनि जानकारी दिइएको थियो । केही पर्वतारोही प्रशिक्षकसहित अन्यले पर्वतारोहणसम्बन्धी ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, म्याप नेमिगेसनसहित अन्य पर्वत चढ्न आरोहीले गर्नुपर्ने सामग्री र तयारीबारे प्रयोग गरेर सिकाएका थिए ।
मंगलबार प्रतिनिधि सभा १ का संघीय सांसद माधव सापकोटा, प्रदेश सांसद सरल सहयात्री पौडेल, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, सुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोकका महेन्द्रसिं थापा, गाउँपालिकाका प्रशासकीय अधिकृत लोकबहादुर विकले सहभागीलाई तालिमको प्रमाणपत्र वितरण गरे ।
यसअघि जुगल हिमश्रृंखलाको ११ वटा मध्येको एक चुचुरो ६ हजार एकसय ५१ मिटरको उचाईमा रहेको ग्ल्याजेन पिक (फुर्पा ज्यो ज्यो पिक) दुई पटक आरोहण भइसकेको छ । बौद्ध धर्मको प्रसिद्ध बज्रायान परंम्पराअनुसार जुगलको ने–सम् खोलादेखि उताका निमाडोमा, लक्याप, तेम्बाथाङ, दीपु, तेगासहित हिमश्रृंखला क्षेत्र तिर्थमध्ये मानिन्छ ।
अझ जुगलको फेदीमा रहेको फराकिलो जंगली इलाका र समथर मैदान ने–पेमासालको अर्थनै हो देवताको स्वर्ग । यहाँको तोङक्युप गुफा र मैदान बौद्ध धर्मको प्रसिद्ध बज्रायान सम्प्रदायका बज्रगुरु पदमसंम्भवा (रिम्पोछे)को तपोभूमि र छेन्दाङ पाल्देन माम् देवीको बसोबासस्थल मानिन्छ । यीबाहेक ब्रम्हायाणी नदीको मूल, हजार जना अट्ने गुफा, ज्युठी ग्याप खर्क, बुम्बाशेर्बु, नेखर्क, बुम्बाशेर्बु, श्याबल पोखरीको आफ्नै धार्मिक महत्व र सौन्दर्यता छ ।
तालिममा सहभागीले पर्वतारोहण तालिमसँगै पैदल हिँडेर जुगल हिमाल फेरो मारेका थिए । यहाँको शिखरको तल्लो भेगमा पर्वत चढ्ने अभ्यास पनि गरेर पोख्त बने । तालिमबाट पर्यटकीय प्रवर्द्धन र माउन्टेन गाइड उत्पादन गर्ने लक्ष्य राखिएको जुगल गाउँपालिकाले जनाएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ मा रहेको ४५ सय मिटरको उचाईमा रहेको हिमालको आधार शिविर ने–पेमासाल–बुम्बाशेर्बुर्मा पर्वतारोहणसम्बन्धी तालिम लिँदै युवा । तस्विर : सौजन्य मिलन तामाङ
