सहकारी अनिवार्य रूपमा उत्पादनसँग जोडिनुपर्छ : मुख्यमन्त्री आचार्य

चैत्र २०, २०८१

दुर्गालाल केसी

Co-operatives must be linked with production: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी संस्थाहरू उत्पादनमा नजोडिँदासम्म प्रदेशले समृद्धिको लक्ष्य पूरा गर्न नसक्ने बताएका छन् ।

६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार देउखुरीमा लुम्बिनी प्रदेशका उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन बढाउन सहकारी संस्थाहरू अनिवार्य रूपमा जोडिनुपर्ने बताए ।

`जुन लक्ष्य र उद्देश्य बोकेर सहकारीहरू निर्माण भएका छन् । जसरी उत्पादनसँग जोडिनुपर्थ्यो । त्यसरी नजोडिएको देखेको छु,´उनले भने, `सहकारी संस्थाको माध्यमबाट स्थानीय उत्पादन बढाउन सकिन्छ । किसानको उत्पादन बजारसम्म पुर्‍याउन सकिन्छ । आयआर्जन बढाउन सकिन्छ । किसानको जीवनस्तर माथि उठाउन सकिन्छ ।´

समाजवादको आधारशिला सहकारी भएको र प्रदेश सरकारले सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । पछिल्लो समय सहकारीहरू आफ्ना लक्ष्य, उद्देश्यभन्दा बाहिर गएर काम गर्दा समस्या उत्पन्न भएको र त्यसलाई ट्र्याकमा ल्याउने काम सरकारले गरिरहेको आचार्यले बताए ।

`नियतबस खोलिएका सहकारीका कारण अत्यन्त राम्रो काम गरेका सहकारीहरूप्रति पनि मान्छेहरूले औंला ठड्याउने परिस्थिति निर्माण भएको छ´ उनले भने,´नकारात्मक काम गर्ने, उपभोक्ताको रकम अपचलन गर्ने सहकारीलाई निरुत्साहित गर्ने, कानुनी दायरामा ल्याउने काम भइरहेका छन् ।´

राम्रो काम गरेका सहकारी संस्थालाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको उनले बताए । 

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट चार सहकारी संस्थाहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully