नेप्से र कारोबार रकम दुवै घटे

१९.९५ अंकले घट्दा २६७६.१७ बिन्दुमा नेप्से 

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

Both NEPSE and turnover decreased

काठमाडौँ — मंगलबार समग्र नेप्से परिसूचकसँगै र सेयर कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्ला तीन दिन लगातार दोहोरो अंकले बढेको नेप्से मंगलबार १६.९५ अंकले घटेको छ । आइतबारको तुलनामा शून्य दशमलव ६२ प्रतिशतले घटेर समग्र नेप्से २६७६.१७ बिन्दुमा ओर्लेको छ ।

आइतबार २९.८२ अंकले बढेर नेप्से २ हजार ६ सय ९३.१२ बिन्दुमा पुगेर बन्द भएको थियो । 

गत बुधबार ३९.१३ र बिहीबार ४१.४३ अंकले नेप्से बढेको थियो । अघिल्ला तीन कारोबार दिन नेप्से ११० अंकले बढेको थियो । यही कारण केही अल्पकालीन लगानीकर्ताले मुनाफा सुरक्षित गर्न (प्रोफिट बुक) गर्न सेयर बिक्री गर्न थालेपछि मंगलबार बजारमा नकारात्मक असर परेको हो ।

नेप्से घटेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि ४४ खर्ब ४३ अर्ब रुपैयाँमा खुम्चिएको छ । आइतबार कुल बजार पुँजीकरण ४४ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको थियो ।

आइतबारको तुलनामा सोमबार नेप्से करोबार पनि घटेको छ । आइतबार ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँ कारोबार भएकामा मंगलबार ५ अर्ब ७९ करोड ७७ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । सार्वजनिक बिदा भएका कारण सोमबार सेयर कारोबार भएन ।

मंगलबार ४२ कम्पनीको सेयर मूल्य बढ्यो भने २०१ कम्पनीको मूल्य घट्यो । यस दिन ५६ हजार ५ सय ४८ पटकको सेयर किनबेचबाट १ करोड ६ लाख ७० हजार ६ सय ४९ कित्ता सेयर किनबेच भयो । व्यापारबाहेक सबै उपसमूहको परिसूचक घट्यो । उक्त दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी १६३.५० अंकले बढ्यो भने होटल तथा पर्यटन ११३.५३ अंकले घट्यो । जीवन बिमा उपसमूहको परिसूचक ८६.३२, लघुवित्तको ५४.४४ र विकास बैंकको ५२.८३ अंकले घटे ।

मंगलबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले बढ्दा सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गरिएको थियो । राधी विद्युत् कम्पनीको ४.२८, सयपत्री हाइड्रोपावरको ४.१५, विशाल बजार कम्पनीको ४.०६ र कुमारी सबल योजनाको ३.२८ प्रतिशतले सेयर मूल्य बढे ।

गुराँस लघुवित्त वित्तीय संस्थाको ५.५६, छ्याङ्दी हाइड्रोपावरको ४.३६, उपकार लघुवित्त वित्तीय संस्थाको ४.०५, दोर्दी खोला जलविद्युत्को ३.६५ र आरबीबी म्युचअल फन्ड २ को ३.५४ प्रतिशतले लगानीकर्ताहरूको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा भने हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सीईडीबी होल्डिङ्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन पावर पार्टनर अघि रहे ।

हिमालयन रिइन्स्योरेन्स ६४ करोड २५ लाख ६६ हजार, एनआरएन इनफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४५ करोड ६० लाख १४ हजार, सीईडीबी होल्डिङ्सको २७ करोड ७७ लाख ३४ हजार, नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ६६ लाख ३५ हजार र हिमालयन पावर पार्टनरको २१ करोड २९ लाख १ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

हिमालयन रिइन्स्योरेन्सको ६ लाख २७ हजार ३ सय ९ कित्ता, घलेम्दी हाइड्रोपावरको ३ लाख ८१ हजार ८ सय ८९, युनाइटेड मोदी हाइड्रोपावरको ३ लाख ४८ हजार ७ सय ३४, हिमालयन पावर पार्टनरको ३ लाख ४७ हजार १ सय ३०, प्रभु स्मार्ट फन्डको ३ लाख ३ हजार २ सय २५ कित्ता सेयर किनबेच भयो ।

कान्तिपुर संवाददाता

Link copied successfully