कावासोतीदेखि पश्चिमतर्फको नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका सबै घरमा बिजुली पुर्याउने अभियानमा प्राधिकरण
भैरहवा — लुम्बिनीका ६ जिल्लाका सबै घरमा विद्युत् सेवा उपलब्ध गराएर आउँदो जेठ १५ भित्र ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणा गर्ने तयारी गरिएको छ ।
बिजुली नपुगेका घरमा धमाधम विद्युतीकरणको काम जारी राखिएको र प्रत्येक घरमा पुगेपछि पूर्ण विद्युतीकरण क्षेत्र घोषणा गरिने नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलले बताएको छ ।
‘प्राधिकरणको प्रदेश कार्यालय मातहतका ११ वटा वितरण केन्द्रबाट बिजुली नपुगेका घरको खोजी गरी लाइन विस्तारको काम भइरहेको छ,’ प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख हरिप्रसाद पाण्डेले भने, ‘विद्युतीकरण हुन बाँकी रहेका तथा छुटेका कुनै घर भए तत्काल खबर गर्न पनि सूचना गरिसकेका छौं ।’ कावासोतीदेखि पश्चिमतर्फको नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी र अर्घाखाँचीका सबै घरमा विद्युतीकरण गरेर ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणाको तयारी गरिएको हो ।
यी जिल्लामा घरेलु विद्युत् ग्राहकको संख्या ५ लाख २९ हजार छ । ‘पूर्ण विद्युतीकरण क्षेत्र’ घोषणाका लागि यी क्षेत्रमा बिजुली नपुगेको घर संख्या करिब ५ सय भएको अनुमान प्राधिकरणको छ । यसअन्तर्गत, हाल अर्घाखाँचीको शीतगंगा नगरपालिका–११ र ९, नवलपरासीको बर्दघाट, बुटवल र कपिलवस्तुका केही बस्तीका घरमा विद्युत् पुर्याउने काम भइरहेको छ । ‘९५ प्रतिशतभन्दा धेरै घरमा बिजुली पुगेपछि पूर्ण विद्युतीकरणको घोषणा गर्न मिल्ने भए पनि यस पटक शतप्रतिशत घरमा बिजुली पुर्याएर घोषणा गर्न लागिएको छ,’ पाण्डेले भने, ‘पूर्ण विद्युतीकरण घोषणा गर्ने लक्ष्य चालु आर्थिक वर्षसम्म गर्ने भए पनि हामीले त्यसअघि नै घोषणाको तयारी गरेका छौं ।’
प्राधिकरणको अर्घाखाँची, गुल्मी, पाल्पा, बुटवल, भैरहवा, नयाँमिल, अमुवा, तोलिहवा, कृष्णनगर, बर्दघाट र परासी वितरण केन्द्रले विद्युत् नपुगेका घरको खोजी गरिरहेका छन् । पूर्ण रूपमा बिजुली बलेका गाउँमा पनि सिँचाइका लागि अलग्गै विद्युत् व्यवस्था हुनुपर्ने माग राख्दै तराईका केही पालिकाका जनप्रतिनिधिले पूर्ण विद्युतीकरणको सिफारिस नदिने समस्या रहेको प्राधिकरणका एक कर्मचारीले बताए ।
