ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

चैत्र २०, २०८१

रासस

1900 complaints in a month on the hotline of the Ministry of Energy

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको संख्या उल्लेख्य देखिएको छ।

काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथासक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिए। हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने वित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताए। 

हटलाइनमा फागुन महिनामा मात्र एक हजार ९०२ वटा उजुरी दर्ता भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चैत महिनामा एक हजारभन्दा बढी गुनासो आइसकेका छन् । हटलाइनमा प्राप्त गुनासोमध्ये ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषय बढी छन् ।      

फोनबाहेक फेसबुक, भाइबरलगायतका डिजिटल माध्यमबाट सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । सबैभन्दा बढी गुनासो बागमती र मधेस प्रदेशबाट आएका छन् । गुनासो सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको हटलाइनमा कार्यरत एकबहादुर महर्जनले जानकारी दए।

मन्त्रालयमा नै सिधैँ गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती कम हुँदै गएको छ ।

रासस

Link copied successfully