दिनदिनै कीर्तिमान बनाउँदै मूल्य, व्यवसायी भन्छन्, ‘किन्नेभन्दा बिक्री गर्न आउने बढे’
काठमाडौँ — अन्तर्राष्ट्रिय र स्थानीय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ कीर्तिमान बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक कारणले सुनको मूल्य उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ हजार १ सय ८ डलर थियो । यो मूल्य उच्च हो । अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।
महासंघले सोमबारका लागि प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । यो मूल्य आइतबारको तुलनामा प्रतितोला १ हजार १ सय रुपैयाँले बढी हो । आइतबार प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुन ३ हजार ८५ डलरमा कारोबार भएको थियो । आइतबार र सोमबारको तुलनामा सुनको भाउ प्रतिऔंस २३ डलरले बढेको छ । महासंघले सोमबार प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँ तोके पनि सर्वसाधारणले सोही मूल्यमा गहना किन्न पाउँदैनन् ।
गहना व्यवसायीले उपभोक्तालाई बिक्री गर्दा ज्याला–जर्ती, मुनाफालगायत जोड्छन् । मुनाफा र ज्याला–जर्ती पसल र गहनाको डिजाइनअनुसार लिन्छन् । महासंघले तोकेको मूल्यमा व्यवसायीले १२ देखि १८ प्रतिशत जोडेर बेच्छन् । औसत १२ प्रतिशतको सोमबारको मूल्यअनुसार उपभोक्ताले प्रतितोला गहना किन्न थप २१ हजार ३ सय ४८ रुपैयाँ तिर्छन् । अर्थात् एक तोला गहना किन्न उपभोक्ताले १ लाख ९९ हजार २ सय ४८ रुपैयाँ तिर्नुपर्छ ।
‘महासंघले अन्तर्राष्ट्रिय बजारलाई आधार मानेर मूल्य निर्धारण गर्ने हो । अहिले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा नयाँ–नयाँ कीर्तिमान बनेको छ । अन्तर्राष्ट्रिय बजारसँगै स्वदेशी बजारमा पनि कीर्तिमान बनेको छ,’ गहनाविज्ञ तेजरत्न शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तारचढावको मुख्य कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीति र अन्तर्राष्ट्रिय भूराजनीतिक नै हो ।’
महासंघले अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजारमूल्य, डलरको विनिमय दर, १० प्रतिशत भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गरिन्छ । यस्तै अवस्था रहे अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ५ सय डलरसम्म पुग्ने अनुमान प्रक्षेपण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चैत ११ मा प्रतिऔंस सुनको मूल्य ३ हजार १८ डलर थियो । स्वदेशी बजारमा प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो । चैत १२ मा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ डलर घटेर ३ हजार १५ डलर कायम भएको थियो । स्वदेशी बजारमा प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा तोकियो । त्यसपछि बढ्न थालेको मूल्य लगातार बढ्ने क्रममा छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार १ सय १२.१३ डलरसम्म पुगेको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र रसियाबीच दरार आएका कारण पनि लगानीकर्ता सुनतर्फ आकर्षित भएको महासंघका उफाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जनाए । ‘युत्रेन र रुसबीच युद्धविराम र शान्तिवार्ता गर्ने भनिए पनि यी राष्ट्र मिल्ने सम्भावना कम हुँदै गएको छ । ट्रम्पले इरानसँग वार्ता गर्न चाहेकामा इरानले मानेको छैन,’ उपाध्यक्ष बज्राचार्यले भने, ‘युरोपले रुस र युक्रेनको युद्ध चर्किन सक्ने र सर्वसाधारणहरू सचेत रहन सूचना जारी गरेका कारण सुनको मूल्य बढेको देखिन्छ । मूल्य अझै बढ्ने सम्भावना छ ।’
युक्रेन र गाजा क्षेत्रमा तनाव कायमै छ । सुरक्षित लगानी खोजेकै कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो क्रममा रहेको जानकार बताउँछन् । यीबाहेक डलर कमजोर भएको छ । भारतीय रुपैयाँ केही मजबुत भएको छ । सुन र डलरको विपरीत सम्बन्ध हुन्छ । डलर बलियो हुँदा सुनको भाउ घट्छ । डलर कमजोर हुँदा भाउ बढ्छ ।
मूल्य बढ्न थालेपछि गहना बजार भने सुस्त रहेको व्यवसायी बताउँछन् । सर्वसाधारण खरिदभन्दा बिक्री गर्न आएको शाक्यले जनाए । ‘बजारमा पुराना गहना बिक्रीमा आउन थालेका छन् । सर्वसाधारण खरिदभन्दा बिक्री गर्नतर्फ आकर्षित छन्,’ शाक्यले भने ।
एक सातायता महासंघले तोकेको सुनको मूल्य (प्रतितोला)
चैत ११ : १ लाख ७३ हजार ५ सय
चैत १२ : १ लाख ७३ हजार ३ सय
चैत १३ : १ लाख ७३ हजार ५ सय
चैत १४ : १ लाख ७४ हजार ८ सय
चैत १५ : १ लाख ७६ हजार २ सय
चैत १७ : १ लाख ७६ हजार ८ सय
चैत १८ : १ लाख ७७ हजार ९ सय
