२७ सय नजिक पुग्यो नेप्से परिसूचक

गत बुधबार ३९ र बिहीबार ४१ अंकले बढेको नेप्से आइतबार २९.८२ अंकले वृद्धि हुादा २ हजार ६ सय ९३.१२ पुग्यो 

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

The NEPSE index reached close to 2700

काठमाडौँ — साप्ताहिक कारोबारमा पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ३० अंकले बढेर बन्द भएको छ । यससँगै पछिल्ला दिनमा सेयर बजारमा उत्साह देखिन थालेको छ । यही चैत पहिलो साता निरन्तर ओरालो लागेको नेप्से पछिल्लो तीन कारोबारयता लगातार बढिरहेको छ । 

गत बुधबार र बिहीबार क्रमशः ३९.१३ र ४१.४३ अंकले नेप्से बढेको थियो । आइतबार पनि अघिल्ला दुई कारोबार दिनकै जस्तो प्रवृद्धि पछ्याउँदा आइतबार नेप्से परिसूचक २ हजार ६ सय ९३.१२ बिन्दुमा पुगेको छ ।

यो यही चैत ५ यताकै उच्च हो । चैत पाँचमा नेप्से २ हजार ६ सय ९७.०४ अंकमा थियो । त्यसयता नेप्से घटेर गत मंगलबार २ हजार ५ सय ८२.८७ बिन्दुमा ओर्लिएको थियो । पछिल्ला दिनमा नेप्से लगातार बढ्न थालेपछि फेरि उकालो लाग्न थालेको हो । 

आइतबार ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । गत बुधबार ४ अर्ब २० करोड ४४ लाख र बिहीबार ५ अर्ब २२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको थियो । गत बुधबार र बिहीबारको तुलनामा आइतबार कारोबार रकम पनि बढेको हो । 

आइतबार २२२ कम्पनीको सेयर मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घट्यो । कुल ७६ हजार ३ सय ५४ पटकको सेयर किनबेचबाट ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १ करोड ५५ लाख ७२ हजार ८ सय ६२ कित्ता सेयर किनबेच भएको छ । 

कुल १३ उपसमूहमध्ये व्यापार र म्युचअल फन्डको मात्रै घट्यो । व्यापार ११.३३ अंक र म्युचअल फन्ड शून्य दशमलव १५ प्रतिशतले घटेको हो । आइतबार जीवन बिमा ११४.३३, निर्जीवन बिमा ९६.६५, होटल तथा पर्यटन ९१.०८, जलविद्युत् ५३.४५, फाइनान्स ५१.४३, अन्य ५०.३२, विकास बैंक ४५.४९, उत्पादन तथा प्रशोधन ४१.९९ अंकले बढ्यो । लघुवित्त ३०.५९, बैंकिङ ११.१९ र लगानी २.३३ अंकले बढेको छ । 

जोशी हाइड्रोपावरको ९.९४, दोर्दीखोला जलविद्युत्को ६.५९, कुमारी सबल योजनाको ६.३९, गुराँस लघुवित्तको ५.९५ र तेह्रथुम पावर कम्पनीको ५.८७ प्रतिशतले सेयर मूल्य बढेको हो । प्रभु स्मार्ट फन्ड, सयपत्री हाइड्रोपावर, सामुदायिक लघुवित्त, बोटलर्स नेपाल (बालाजु) र १० प्रतिशत नेपाल एसबीआई बैंक डेबेञ्चर २०८६ का लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए । 

कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंक, सीईडीबी होल्डिङस, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स अघि रहे । 

नेप्सेका अनुसार हिमालयन रि–इन्स्योरेन्सको ६९ करोड १९ लाख ७७ हजार, नेपाल रि–इन्स्योरेन्स कम्पनीको ४७ करोड ८४ लाख ८२ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको ३९ करोड ६८ लाख ८५ हजार, सीईडीबी होल्डिङ्सको २४ करोड १० लाख ३४ हजार र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १७ करोड ९४ लाख ११ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully