हुलदंगामा भएको क्षतिको बिमा दाबी फर्छ्योट गरिहाल्न निर्देशन

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Instructions for filing insurance claims for riot damage

काठमाडौँ — काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदंगाका कारण बिमितको धनसम्पत्तिमा भएको क्षतिबाट परेको बिमा दाबी छिटो फर्छ्योट गर्न नेपाल बिमा प्राधिकरणले निर्देशन दिएको छ । 

काठमाडौं उपत्यकामा चैत १५ मा भएको हुलदंगाका कारण भएको क्षतिको विवरण ‘एक्सेल स्प्रिड सिट’ ढाँचामा साप्ताहिक रूपमा प्रत्येक साताको बुधबार प्राधिकरणमा पेस गर्न पनि सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।

राजावादी प्रदर्शनकारीले गत शुक्रबार तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड र आगजनीबाट करोडौं रुपैयाँ बराबरको क्षति पुगेको जनाइएको छ । यद्यपि यकिन विवरण आइनसके पनि केन्द्रीय सुरक्षा समिति बैठकमा प्रहरी महानिरीक्षक दीपक थापाले करोडौंको क्षति भएको ब्रिफिङ गृहमन्त्री रमेश लेखकसमक्ष गरेको स्रोतले बताएको छ । 

प्रदर्शनकारीले तीनकुने क्षेत्रमा निजी कार्यालय सञ्चालन भएका घर, नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, माओवादीको पार्टी कार्यालय, भाटभटेनीमालगायतमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका थिए । ‘ऋणका लागि धितोमा राखेको बाहेक निजी घर तथा व्यवसाय बिमा गर्ने प्रचलन हामीकहाँ छैन । यसकारण धेरै रकमको क्षति भए पनि बिमा दाबी निकै कम आउने सम्भावना छ,’ एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । 

हुलदंगामा भएको क्षतिबापत परेको बिमा दाबीबारे तथ्यांक संकलन सुरु भएकाले आउँदो बुधबारदेखि साप्ताहिक रूपमा सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ । 

कान्तिपुर

Link copied successfully