अस्ट्रेलियाले नेपाललाई ३४ मिलियन डलर सहयोग दिने

चैत्र १७, २०८१

नारायण खड्का

Australia will give $34 million in aid to Nepal

अस्ट्रेलिया — अस्ट्रेलिया सरकारले नेपाललाई यस आर्थिक वर्षमा करिब ३४ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । केही दिनअघि सार्वजनिक बजेटमा घोषणा गरिएको यो आर्थिक सहयोग गतवर्षको भन्दा करिब १ मिलियन डलरले कम हो ।

अस्ट्रेलियाले हरेक वर्ष विकासोन्मुख राष्ट्रलाई विभिन्न शीर्षकमा वैदेशिक सहयोग प्रदान गर्दै आएको छ । चार दिनअघि यहाँस्थित ट्रेजरर जिम चार्ल्मरले सार्वजनिक गरेको बजेटमा नेपाललाई दुई तहमा सहयोग रकम दिइने उल्लेख छ । 

नेपाललाई यस आर्थिक वर्षमा द्विपक्षीय विनियोजन अन्तर्गत ९ दशमलव १ मिलियन र विकास कार्यक्रम अन्तर्गत २५ दशमलव ४ मिलियन डलर सहयोग प्रदान गरिनेछ । गतवर्ष यस शीर्षकमा २६ दशमलव १ मिलियन डलर दिइएकोमा यो रकमलाई यसवर्ष केही कम गरिएको छ । 

अस्ट्रेलियाले गत आर्थिक वर्ष नेपाललाई कूल ३५ दशमलव ६ मिलियन डलर सहयोग गरेको थियो । अस्ट्रेलियाले नेपाललाई दिने सहयोग रकम विभिन्न तीन प्राथमिकतालाई मध्यनजर गरेर सहयोग दिँदै आएको छ । 

यहाँस्थित वैदेशिक विभागमा उपलब्ध तथ्यांकमा अनुसार स्वास्थ्य सुरक्षा, स्थायित्व र आर्थिक प्रगति र विकासलाई प्राथमिकतामा राखेर सहयोग दिइएको छ । अस्ट्रेलिया र नेपालबीचमा ६० वर्षभन्दा बढी द्विदेशीय सम्बन्ध रहेको जनाउँदै नेपालको विकास, आपतकालीन अवस्थाको तयारीमा सहयोग पुर्‍याउन र स्थानीय तथा जोखिममा रहेका समुदायलाई टेवा दिन तत्पर रहेको बताइएको छ ।

 अस्ट्रेलियाले दिने सहयोग स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका सामाग्री, कोभिड खोप, महिला स्वास्थ्य, शुद्ध खानेपानी तथा स्वास्थ्य तथा सरसफाइमा केन्द्रित रहनेछ । यसैगरि दिगो नीति नियमको निर्माण गर्न, प्रभावकारी सेवा प्रवाह र सुशासनका लागि केन्द्रित रहनेछ । 

अस्ट्रेलियाले अन्य विभिन्न संस्थामार्फत् नेपालको दीर्घकालीन आर्थिक विकासका क्षेत्रमासमेत कार्य गरिरहेको उल्लेख छ । अस्ट्रेलियाले लामो समयदेखि नेपाल लगायतका दक्षिण एसियाली मुलुकलाई हरेक वर्ष आर्थिक सहयोग दिँदै आएको छ । 

यस आर्थिक वर्षमा घोषित सहयोगमध्ये दक्षिण एसियाली मुलुकमा बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानलाई दिँदै आएको सहयोगमा केही वृद्धि गरिएको छ । सबैभन्दा बढी बंगलादेशलाई १ सय ४१ मिलियन, अफगानिस्तानलाई १ सय मिलियन र सबैभन्दा कम भुटानलाई ८ दशमलव ३ मिलियन डलर सहयोग गरिने बजेटमा उल्लेख छ ।

नारायण खड्का खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully