काठमाडौँ — नेपालमा श्रमिकको मौलिक श्रम अधिकारको प्रवर्द्धन र संरक्षणमा सहकार्य गर्न नेपाल राष्ट्रिय मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी पाँच वर्षसम्म लागू हुनेछ ।
समझदारीपत्रमा आयोगका सचिव मुरारीप्रसाद खरेल र आईएलओका नेपाल प्रमुख नुमान ओज्कनबीच हस्ताक्षर भएको हो । आयोग र आईएलओ समझदारीले मर्यादित श्रम र सामाजिक न्याय सुनिश्चित गर्नका लागि महत्वपूर्ण कदम भएको बताएको छ । यसले दिगो आर्थिक वृद्धि, पूर्ण र उत्पादक रोजगारी, सबैका लागि मर्यादित श्रमलाई प्रवर्द्धन गर्न मद्दत पुग्ने जनाइएको छ ।
समझदारीमा राष्ट्रिय कानुन र आईएलओका महासन्धिहरूअन्तर्गत श्रम अधिकार उल्लंघनको अनुगमन र अनुसन्धान गर्न आयोगको क्षमता बढाउने, श्रम अधिकारको प्रवर्द्धन गर्ने, नेपालमा आधारभूत श्रम अधिकार प्रवर्तनलाई सुदृढ गराउने कार्यक्रमहरु कार्यान्वयन गर्ने र वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका अधिकार रक्षा गर्न प्रमुख गन्तव्य देशका राष्ट्रिय मानव अधिकार संस्थासँगको सहकार्यलाई सुदृढ गर्ने विषय उल्लेख छ ।
मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले समझदारीले मौलिक श्रम अधिकारको प्रवर्द्धन र कार्यान्वयन गर्न सहयोग पुग्ने बताए । ‘नेपालको संविधानको धारा ३४ ले प्रत्येक श्रमिकलाई निष्पक्ष श्रम अभ्यास, मर्यादा, निष्पक्ष व्यवहार र सामाजिक सुरक्षाको अधिकारको ग्यारेन्टी गरेको छ,’ उनले भने,‘यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन आयोग र आईएलओबीचको समझदारीले थप सहयोग गर्नेछ ।’
आयोगका सचिव मुरारीप्रसाद खरेलले मानव अधिकार, श्रम अधिकार र आप्रवासी श्रमिकको अधिकारको रक्षाको लागि अन्तर्राष्ट्रिय सहकार्य जरुरी रहेको बताए ।
आईएलओका नेपाल प्रमुख ओज्कनले अन्तर्राष्ट्रिय श्रम मापदण्डप्रति नेपालको प्रतिबद्धतालाई अगाडि बढाउन सम्झौताले सहयोग गर्ने वताए । ‘यो केवल कागजको टुक्रा मात्र होइन । यो श्रमिकको अधिकारको रक्षा गर्न र श्रम अधिकारलाई मानवअधिकारको रूपमा हेरिएको र व्यवहार गरिएको सुनिश्चित गर्न मिलेर काम गर्ने प्रतिबद्धता हो,’ उनले भने, ‘जब श्रमिकलाई उचित ज्यालाबाट बञ्चित गरिन्छ, असुरक्षित अवस्थामा काम गर्न बाध्य पारिन्छ र उनीहरूको आवाज दबाइन्छ – त्यो केवल श्रम मुद्दा होइन । त्यो मानव अधिकारको मुद्दा हो । यो सम्झौताले श्रमिकका अधिकार सुनिश्चित गर्नको लागि अनुगमन गर्ने, दस्तावेजीकरण र सम्बोधन गर्न सहयोग गर्छ ।’
