धनगढी — ‘तीर्थस्थल आए जस्तो लाग्यो, मन प्रफुल्ल भयो,’ धनगढीमा सीप तथा रोजगार मेलाको सञ्चालनका क्रममा अवलोकन गर्न दुई साताअघि मेलास्थल पुगेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अवलोकनपछिको प्रतिक्रिया हो यो। जहाँ सुदूरपश्चिमका विभिन्न स्थानीय तहबाट आएका एक हजार ४० जनाले २९ वटा विधाका तालिमहरू लिइरहेका थिए।
मेला सञ्चालनस्थल धनगढीको खुलामञ्च आकर्षक बनाउन विशेष टेन्टमा निर्माण गरिएको थियो। फागुन पहिलो सातादेखि सुरु भएर चैत १५ गते शुक्रबार सम्पन्न हुने मेलामा सुदूरपश्चिमका ३९ वटा स्थानीय तहका ५३९ महिला र ५०१ पुरुष गरी एक हजार ४० जना युवाले सीपमूलक तालिम लिएका धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्रबहादुर महराले बताए। उनका अनुसार आठ वटा मुख्य विधा र २९ वटा उपविधाहरूको तालिम सञ्चालन गरिएको छ।
तालिम सञ्चालन अवधिमा मेला अवलोकन गर्न कांग्रेस महामन्त्री शर्मा मात्रै होइनन्, विभिन्न ठाउँबाट मेलाको अवलोकन गर्न पुगेका सबैजसोले मेलाको प्रशांसा गरे । कांग्रेसकै महामन्त्री गगन कुमार थापाले मेला अवलोकन गर्दै सीप सिकाउने मात्रै होइन, त्यसको दीर्घकालीन योजना पनि बनाइएको देखेर खुसी लागेको बताए। ‘यस्तो कार्यक्रम देखेर यो सन्देश देशैभरि बोकेर जान्छु,’ उनले भने।
प्रदेश स्वरोजगार कोष लगायतका विभिन्न सरकारी तथा गैरसकारी निकायको साझेदारीमा धनगढी उपमहानगरपालिकाले पुरोहित तालिमदेखि डिजिटल मार्केटिङसम्मका आठ वटा विधा अन्तर्गत २९ वटा सहायक विधामा सीपमूलक तालिम सञ्चालन गर्दै सीप तथा रोजगार मेलाको आयोजना गरेको हो।
आर्ट एण्ड क्राफ्ट डिजाइनिङ विधा अन्तर्गत फेसन डिजाइनिङ तालिम अन्तर्गत फेसन डिजाइनिङ, एडभान्स टेलरिङ, सांस्कृतिक पोषाक निर्माण, बेतबाँस क्राफ्ट/हस्तकलाका सामग्री निर्माणको तालिम सञ्चालन गरिएको छ । ‘सीप सिकेर स्वरोजगार बन्ने मेरो उहिल्यै देखिएको धोको हो । अहिले तालिम पाएँ,’ बेतबाँसका सामग्री निर्माणको तालिम लिएकी अछाम साँफेबगरकी लक्ष्मी चन्द शाहले भनिन् ‘तालिमबाट बेतबाासका मुढा, टोकरी, फुलदानी, जुत्ताचप्पल राख्ने र्याक, हृयांगरलगायत सामग्री निर्माण गर्न सक्ने सीप सिकेकी छु।’
अटोमोबाइल विधा अन्तर्गत ईलेक्ट्रिक कार, मोटरसाइक/स्कुटर मर्मत तालिम सञ्चालन भएका छन् । कैलालीको भजनी ७ का २७ वर्षीय सुन्दर कठरियाले इलेक्ट्रोनिक कार मर्मत तालिम लिएका छन् । उनले इभि गाडी प्रयोगको जमाना भएकोले उत्त तालिम रोजेको बताए । ‘अहिलेको तालिम बेसिक भयो, एडभान्स तालिम पाउन पाए राम्रो हुन्थ्यो,’ कठरियाले भने ‘एडभान्स तालिम लिएर स्वदेशमै ग्यारेज खोल्ने विचार छ ।’
निर्माण तालिम विधा अन्तर्गत टायल मार्वल फिक्स्चर, डकर्मी, फर्निचर, विल्डिङ र प्लम्बिङ तालिम सञ्चालन भएका छन् । विबिएस अध्ययन गर्दै गरेका कञ्चनपुरको कृष्णपुरका २५ वर्षीय शंकर धामीले प्लम्बिङ तालिम लिए । ‘पढाईसँगसँगै सीप पनि भए भविष्यमा आफै गर्न सकिन्छ भनेर तालिम लिएको हुँ,’ उनले भने ‘सहरबजारमा स्कोप पनि राम्रै छ ।’
आतिथ्य/सत्कार विधा अन्तर्गत कफि बारिस्ता, फास्टफुड/कुक, वेटर, रिशेप्सनिष्ट/फ्रन्ट डेस्क तालिम सञ्चालन गरिएको छ । यस्तै, इलेक्ट्रिकल र मेकानिकल विधा अन्तर्गत वेल्डिङ, रेफ्रिजरेशन र एसी, मोबाइल, सिसिटिभी, बिल्डिङ ईलेक्ट्रिकल वाइरिङ रहेका छन् । प्लस टु पढ्दै गरेका बझाङ बुगल नपा ८ कपल्सेरीका सुवास बोहराले बिल्डिङ वाइरिङ तालिम लिएका छन् ।
‘वैदेशिक रोजगारीका लागि कोरियन भाषा सिक्दै गरेको अवस्थामा यहाँ तालिम हुन लागेको थाहा पाएँ । पहाडतिर बिल्डिङ वायरिङको राम्रो स्कोप छ । त्यसैले आवेदन दिएको थिएँ । नाम निस्कियो,’ उनले भने ‘पहाडतिर पनि यस्तै तालिमहरू सञ्चालन हुन पाए त हुन्थ्यो ।’ धनगढी–१२, जुगेडाका सुरत बोगटी पनि तालिम लिन पाएकोमा निकै खुसी देखिन्थे । पाँच वर्ष भारतुमा मजदुरी गरेर घर फर्किएका थिए । वाइरिङमा रुची भएका बोगटीले तालिम खुलेको जानकारी पाए । ‘वाइरिङको तालिमको खोजीमा थिएँ, ठ्याक्कै तालिम पनि खुलेको रहेछ,’ उनले भने, ‘घरमा वाइरिङ गर्न सक्ने भएको छु । अब भारत जाने विचार छैन ।’
सूचना प्रविधि तालिम विधा पनि सञ्चालन गरिएको छ । जस अन्तर्गत डिजिटल मार्केटिङ, हार्डवेयर/नेटवर्किङ, ग्राफिक डिजाइनर र अटो क्याड तालिम सञ्चालन भएका छन् । धनगढीकि विपना जोशीले ग्राफिक डिजाइनिङको तालिम लिइन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरिरहेकी जोशीले ग्राफिक डिजाइनिङको स्कोप देखेर त्यो विधा रोजेको बताइन् । ‘सैद्धान्तिक ज्ञान मात्रले केही नहुने, त्यही भएर सीपमूलक तालिममा सहभागी भएकी हुँ, विपनाले भनिन् ‘एक महिनाको तालिमले आधारभूत ज्ञान मात्र प्राप्त गर्न सकियो । अब उपल्लो तहको तालिम लिएर स्वरोजगार बन्ने आकांक्षा हो ।’
शैक्षिक विधा अन्तर्गत ईसीडी शिक्षक तालिम, पुरोहित र लेखा व्यवस्थापन तालिम सञ्चालन भए । धनगढीकी भगवती चापागाई शिक्षा शास्त्र संकायमा स्नात्तकोत्तर हुन् । सीप तथा रोजगार मेलामा उनले ईसीडी शिक्षक तालिम लिइन् । ‘मेरो शैक्षिक पृष्ठभूमि पनि शिक्षा शास्त्र भएकोले मन्टेश्वरी शिक्षकमा रुची भएर त्यही तालिम रोजेकी हुँ,’ भगतीले भनिन् ‘शैक्षिक योग्यताका प्रमाणपत्र भएपनि उचित तालिम पाइएको थिएन । यस तालिमले निकै आत्मविश्वास दियो । अगाडी बढ्न हौसला प्राप्त भएको छ ।’ यस्तै, स्वास्थ्य तथा सौन्दर्य तालिम विधा अन्तर्गत एडभान्स ब्यूटिसियन, हेयर कटिङ/स्टाइलिङ र नाई तालिम सञ्चालन गरिएको छ ।
आर्ट एण्ड क्राफ्ट डिजाइनिङ अन्तरगत फेसन डिजाइनिङ तालिममा सबैभन्दा धेरै आकर्षण देखिएको आयोजकले जनाएको छ । उक्त तालिमका लागि ५० जना माग गरिएकोमा सबैभन्दा बढी ६ सय ३० जनाको आवेदन परेको थियो । त्यस्तै सौन्दर्य अन्तरगत एडभान्स ब्युटिसियनका लागि पनि ५० जना माग गरिएकोमा ५ सय ८७ जनाको आवेदन पर्यो । शैक्षिक क्षेत्र अन्तरगत लेखा व्यवस्थापनमा ५० जना माग गरिएकोमा ४ सय ६३ जना र एडभान्स टेलरिङमा २५ जना माग गरिएकोमा ४ सय १६ जनाको आवेदन परेको थियो ।
अतिथि सत्कार क्षेत्र अन्तर्गत कफि बारिस्ताका लागि २५ जना माग गरिएकोमा ३ सय ७५ जना, सांस्कृतिक पोषाक निर्माणमा ७२ जना मागिएकोमा २ सय २०, शैक्षिक क्षेत्र अन्तरगत ५० जना इसिडी शिक्षक तालिमको कोटा राखिएकोमा २ सय १८, अटोमोबाइल्सतर्फ विद्युतीय कार मर्मतमा २५ जनाको कोटा तोकिएकोमा १ सय २४, सौन्दर्य क्षेत्र अन्तरगत हेयर कटिङ स्टाइलिङमा ५० जना माग गरिएकोमा १ सय १७, मोटरसाइकल र स्कुटर मर्मत तालिमका लागि २५ जनाको कोटा तोकिएकोमा ८६ जनाले आवेदन दिएका थिए ।
त्यस्तै निर्माण क्षेत्र अन्तर्गत डकर्मी तालिममा ५० जना माग गरिएकोमा ५६ जना आवेदक परेका थिए । फर्निचर, विल्डिङ पेन्टर र प्लम्बिङमा समान २५/२५ जनाको लागि आवेदन खुलाइएकोमा फर्निचरलागि २६ जना, प्लम्बिङमा ३७ जनाले आवेदन दिएका थिए ।
केही तालिममा भने कोटा भन्दा कम संख्यामा आवेदन परेको थियो । टायल तथा मार्बल फिक्स्चरमा ५० जनाको कोटा रहेकोमा ३४, भने विल्डिङ पेन्टरमा भने २० जनाले मात्रै आवेदन दिएका थिए । वेटरका लागि भने ३१, विल्डिङ पेन्टरमा २० जना सहभागी भए ।
डिजिटल मार्केटिङकी प्रशिक्षक रेखा चौधरीले तालिममा ८ जना महिला र १७ पुरुष २५ जना सहभागी रहेको बताइन् । ‘डिजिटल मार्केटिङको अहिलेको जमानामा प्रशिक्षार्थीहरूको पनि निकै आकर्षण देखियो,’ चौधरीले भनिन् ‘डोटी, अछामलगायतका जिल्लाबाट तालिममा सहभागी भएका थिए ।’ टायल मार्बल तालिमका प्रशिक्षक गंगादत्त भट्टले उक्त तालिममा ५ जना महिला, पुरुष ४२ जना गरि ४७ जना सहभागी रहेको बताए । ‘टायल मार्बलमा काम गर्ने योग्य मिस्त्रीले महिनामा ५० हजारसम्म सहजै कमाउन सक्ने अवस्था छ,’ उनले भने ।
सीप तथा रोजगार मेलामा सहभागीहरूले एक महिनाको तालिम प्राप्त गरिसकेपछि विहीबार र शुक्रबार रोजगार मेला पनि सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ । रोजगार मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिहरूबीच आपसी समन्वय गराई रोजगारीमा जोडिने अवसर दिने उपममहानगरको भनाइ छ।
चार हजार ७२२ जनाले आवेदन दिएकोमा एक हजार ४० जना छनोट भएर तालिम दिइएको उक्त सीप तथा रोजगार मेलामा आठ वटा विधाका तालिमका लागि ९२ जना प्रशिक्षकहरू रहेका थिए । प्रशिक्षकहरू कैलाली, काठमाडौं, बाँके, बर्दिया, कञ्चनपुर, बैतडी, डोटी, सुर्खेत, नुवाकोट, धादिङ, भक्तपुर, सिन्धुपाल्चोकलगायतका स्थानबाट आएका थिए ।
डिजिटल मार्केटिङकी प्रशिक्षक रेखा चौधरीले तालिममा आठ जना महिला र १७ पुरुष २५ जना सहभागी रहेको बताइन् । ‘डिजिटल मार्केटिङको अहिलेको जमानामा प्रशिक्षार्थीहरूको पनि निकै आकर्षण देखियो,’ चौधरीले भनिन् ‘डोटी, अछामलगायतका जिल्लाबाट तालिममा सहभागी भएका थिए ।’ टायल मार्बल तालिमका प्रशिक्षक गंगादत्त भट्टले उक्त तालिममा ५ जना महिला, पुरुष ४२ जना गरि ४७ जना सहभागी रहेको बताए । ‘टायल मार्बलमा काम गर्ने योग्य मिस्त्रीले महिनामा ५० हजारसम्म सहजै कमाउन सक्ने अवस्था छ,’ उनले भने ।
धनगढी उपमहानगरका मेयर गोपाल हमालले युवालाई सीपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाउन सीप तथा रोजगार मेला सञ्चालन गरिएको बताए । सीप तालिम लिएर रोजगारी गर्न चाहनेलाई धनगढी उपमहानगरपालिकाले रोजगारदतासँग जोड्ने भएको छ । उपमहानगरका रोजगार संयोजक चन्द्रबहादुर महराका अनुसार होटल, उद्योग र व्यावसायिक प्रतिष्ठानबाट माग पनि आइसकेको बताए । ‘तालिम सकिएपछि रोजगारदातासाग सम्पर्क गराइदिन्छौं,’ उनले भने ।
सरकारी निकायको श्रम बजार सर्वेक्षणलाई पनि अध्ययन गरिएकोले तालिम पाएका युवाहरू सजिलै रोजगारीमा जोडिन सक्ने नगरपालिकाको भनाई छ । महराका अनुसार हाल बजारमा अनौपचारिक क्षेत्र र निर्माण क्षेत्रका लागि दक्ष जनशक्तिको उच्च माग रहेकाले पनि सीप सिकेका युवाहरूले सहजै रोजगारी पाउने सम्भावना आकलन गरिएको छ । मेला अवलोनक गर्न पुगेकी चुरे गाउँपालिका कैलालीकी उपाध्यक्ष धनादेवी थापामगरले धेरै खुसी लागेको बताउँदै भनिन् ‘आगामी वर्ष मेरो पालिकामा पनि यस्तै तालिम सञ्चालन गर्नुपर्छ भन्ने विचार आएको छ ।’
