पोखरामा सुरु भयो ‘वाडा अटो सो’, ईभीको वर्चस्व

चैत्र १४, २०८१

दीपक परियार

'Wada Auto So' started in Pokhara, dominated by EVs

पाेखरा — पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) को आयोजना बिहीबारदेखि पोखरामा ‘पहिलो वाडा अटो सो २०२५’ सुरु भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गण्डकी प्रदेशमै पहिलोपल्ट पोखराको अमरसिंहचौरमा अटो सो सुरु गरेको हो ।

चैत १७ सम्म चल्ने बृहत् अटो प्रदर्शनीमा १९ ब्रान्डका ४ पांग्रे, ६ वटा ब्रान्डका लाइट कमर्सियल, ७ वटा ब्रान्डका २ पांग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अटो कम्पोनेन्ट कम्पनी तथा वित्तीय संस्थाका २० स्टल छन् । प्रदर्शनीमा विद्युतीय गाडी (ईभी)कै बाहुल्यता छ ।

विद्युतीय चार पांग्रेतर्फ बीवाईडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राखेका छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडी प्रदर्शनीमा राखिएको छ । हुन्डाई, टाटा, कियाले ईभीसँगै आइस गाडीलाई पनि सोकेस गरेका छन् । दुई पांग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्राइम्प, रोयल एन्फिल्ड लगायतका ब्रान्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीको स्टल पनि अटो सोमा छन् । गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्ष्य गरी ‘स्पट एक्स्चेन्ज’ तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहेको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले अटो सोको उद्घाटन गरे । उनले पोखरा भ्रमण वर्ष २०२५ घोषणा भएको अवस्थामा आन्तरिक पर्यटक भित्र्याउन प्रदर्शनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । नाडाका केन्द्रीय अध्यक्ष करण चौधरीले सरकारको नीति अस्थिर हुँदा अटोमोबाइल क्षेत्र अप्ठेरा परिस्थितिबाट गुज्रिनुपरेको बताए । नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले ठूलो चुनौतीलाई स्विकारेर पहिलोपल्ट पोखरामा वाडा अटो सो आयोजना गरिएको बताए । ‘काठमाडौं पछि धेरै अटोमोबाइलसम्बन्धी कारोबार हुने स्थान पोखरा हो,’ उनले भने, ‘काठमाडौंबाहिर पहिलोपल्ट भएको यो अटो सो यस क्षेत्रको लाग कोशेढुंगा सावित हुन सक्छ ।’

वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले अटो सोले व्यवसायीलाई नयाँ सम्भावना र बजार वृद्धिको अवसर दिने बताए । सवारी साधन खरिद् बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासतर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आमसर्वसाधारणको रुची बढिरहेकोले अटो सो आयोजना गरिएको बताए ।

‘नवीनतम् सवारी साधनका मोडल, आधुनिक प्रविधि तथा यस क्षेत्रका अन्य सेवा प्रदायकको एकै थलोमा प्रदर्शन हुनुका साथै स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकको भेला भएको छ,’ उनले भने, ‘यसले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully