'कार्बन बिक्रीबाट चार अर्ब ८३ करोड आम्दानी'

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

'4 billion 83 million income from carbon sales'

काठमाडौँ — वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सन् २००५ देखि अहिलेसम्म कार्बन बिक्रीबाट चार अर्ब ८३ करोड आम्दानी गरेको बताएका छन् । उनले 'ऊर्जा क्षेत्रमा जलवायु वित्त लगानीका अवसरहरु तथा केन्द्रको योगदान'  बारे बाेल्दै उनले करीब ६४ लाख युनिट बराबर कार्बन उत्सर्जन न्यूनीकरण गरी कार्बन बिक्रीबाट चार अर्ब ८३ करोड आम्दानी गरिसकेको बताएका हुन् । 

केन्द्रले आगामी मे १६ देखि १८ सम्म आयोजना हुन लागेको ‘सगरमाथा संवाद' को पूर्वसन्ध्यामा 'ऊर्जा आयोजनामा कार्बन वित्त लगानीका अवसर सम्बन्धी राष्ट्रिय गोष्ठी' आयोजना गरेको थियो ।

पेरिस सम्झौताको धारा ६ (प्रकरण ६.२ र ६.४) मा बजारमा आधारित दृष्टिकोण सहितको न्यूनीकरण संयन्त्रको व्यवस्था गरिएको छ भने प्रकरण ६.८ मा गैर-बजारीय दृष्टिकोण सहितको न्यूनीकरण संयन्त्रको व्यवस्था गरिएको  केन्द्रका कार्यकारी निर्देशक ढकालले जनाए । धारा ६ मा व्यवस्था गरिएका अनुपालन कार्बन व्यापार र स्वेच्छिक कार्बन व्यापारको नेपालाम ठूलो सम्भाव्यता रहेको उनको भनाइ छ । 

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतामार्फत् स्वच्छ ऊर्जा रुपान्तरणमा योगदान पुर्‍याउन कार्बन वित्त परिचालनमा जोड दिनुपर्ने विज्ञहरुले ‌औंल्याएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशिलचन्द्र आचार्यको अध्यक्षतामा सञ्चालित उक्त प्राविधिक सत्रमा छलफलमा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् । 

गोष्ठीको उद्‍घाटन समारोहमा ऊर्जामन्त्री खड्काले कार्बन बिक्रीबापतको रकम गरिब, आर्थिक अवस्था कमजोर भएका, पिछडिएका वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्नेमा जोड दिए । कार्बन कोषमार्फत् दूरदराजमा रहेका गरिब, विपन्न र पिछडिएका जनताका लागि सोलारसहित मिटर राखिदिएमा स्थानीयलाई आम्दानीको वातावरण निर्माण हुने र यो कार्यले सरकारले राखेको विपन्न नागरिकलाई समृद्ध बनाउने लक्ष्यमा सहयोग पुग्ने उनले बताए । साथै मन्त्री खड्काले कार्बन उत्सर्जन न्यूनीकरणमा साझा प्रयासको खाँचो रहेको उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य  आरपी विच्छाले कार्बन व्यापारमार्फत् नेपालले धेरैभन्दा धेरै फाइदा लिनेगरी काम गर्नुपर्ने बताए । सबैको स्वामित्व हुने गरी कार्बन बिक्रीको लागि संरचना बनाएर नेपालले अधिक फाइदा लिन लाग्नुपर्नेमा उनले जोड दिए । 

ऊर्जा सचिव सुरेश आचार्यले गोष्ठीले ऊर्जा आयोजनामा कार्बन वित्त लगानीको आवश्यकता, अवसर र चुनौतीको पहिचान गर्ने, लगानीयोग्य  कार्बन वित्त आयोजनाको प्राथमिकीकरण, स्वच्छ ऊर्जा रुपान्तरणका लागि लगानीका सम्भावना र स्रोत परिचालनका अवसर सिर्जना गरेको बताए । नेपालको ऊर्जा रुपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी तथा भविष्यमा लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना र गरिएका अभ्यासको अनुभव आदानप्रदान, सम्भाव्य लगानी अभिवृद्धि, यस क्षेत्रको असल अभ्यास र ज्ञान आदानप्रदानमा सघाउ पुर्‍याउने उनले सुनाए । 

कान्तिपुर

Link copied successfully