डिजिटल रुपान्तरणमा एआईलाई महत्वपूर्ण मान्दै डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Considering AI as important in digital transformation, the draft of Digital Nepal Framework 2.0 was released

काठमाडौँ — सरकारले डिजिटल रुपान्तरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई प्रमुख साधनको रूपमा पहिचान गर्दै 'डिजिटल नेपाल फ्रेमवर्क २.०' को मस्यौदा सार्वजनिक गरेको छ । डिजिटल प्रविधिको रणनीतिक उपयोग गर्दै नेपाललाई डिजिटल युगमा अगाडी बढाउने लक्ष्यसहित सरकारले अघिल्लो फ्रेमवर्कलाई परिमार्जन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिकमा डिजिटल नेपाल फ्रेमवर्कको पहिलो संस्करण (डीएनएफ १.०) सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०८०/८१ भित्र सम्पन्न गरिसक्ने लक्ष्यसहित त्यसमा आठ प्रमुख क्षेत्रका ८० डिजिटल परियोजनाहरू अघि सारिएको भए पनि कार्यान्वयन हुन सकेन । स्वामित्वमा समस्या, अन्तरनिकाय समन्वयको अभाव, सीमित स्रोत-साधन, वित्तीय अभाव र  प्राविधिक क्षमताको कमीका कारण कार्यान्वयनमा चुनौती देखिएको नयाँ फ्रेमवर्कको मस्यौदामा उल्लेख छ । 

सरकारका यी चुनौती समाधान गर्न नयाँ प्रविधिसहितको पूर्वाधार विकास, दक्ष जनशक्ति तयार पार्ने नीति र प्रभावकारी कार्यान्वयन संयन्त्रलाई प्राथमिकता दिँदै फ्रेमवर्क परिमार्जन गरेको जनाएको छ । डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदाले एआईलाई स्वास्थ्य, वित्तीय सेवा, कृषि, पर्यटन, शिक्षा तथा विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा रूपान्तरणकारी टुलका रूपमा प्रयोग गर्ने प्रस्ताव गरेको छ ।  

डीएनएफ २.० को प्रभावकारी कार्यान्वयनका लागि फाइभजीजस्ता उच्च-गुणस्तरीय इन्टरनेट विस्तार, डाटा होस्टिङ र क्लाउड पूर्वाधारको तयारी, डिजिटल पहिचान प्रणालीको सुदृढीकरण र डिजिटल साक्षरताको वृद्धि जस्ता महत्वपूर्ण पक्षहरूलाई प्राथमिकता दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा तयार पारेको हो । मन्त्रालयले मस्यौदा अध्ययन गरी आफ्ना रायसुझाव पठाउन अनुरोध गरेको छ । 

साइबर सुरक्षा, डेटा सुरक्षा, एआई रेडिनेस, ई-सिग्नेचर तथा अ‍थेन्टिकेसनलाई फ्रेमवर्कमा सुरक्षित, पारदर्शी र जवाफदेही डिजिटल प्रणालका आधारका रूपमा ‍औँल्याइएको छ । डिजिटल नेपाल फ्रेमवर्क २.० मा सूचना प्रविधि क्षेत्रका लागि दक्ष जनशक्ती निर्माण, सरकारी जनशक्तीको डिजिटल सिप तथा क्षमता सुधारसँगै देशको समग्र डिजिटल अर्थतन्त्रीको विकासमा  आफ्नो मुख्य उदेश्यका रूपमा ‍औँल्याइएको छ । 

कान्तिपुर

Link copied successfully