४ अर्ब लगानीमा परासीमा आल्मुनियम रड उद्योग

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Aluminum rod industry in Parasi with an investment of 4 billion

परासी — पश्चिम नवलपरासीको रामग्राम–१६ हकुहीमा आल्मुनियम रड उत्पादन गर्ने कम्पनी सञ्चालनमा आएको छ । लिट्मस इन्डस्ट्रिजले आल्मुनियमरड उत्पादन गर्न उद्योग सञ्चालनमा ल्याएको हो । 

विदेशबाट तार ल्याउनुपर्ने बाध्यतालाई प्रतिस्थापन गर्ने लक्ष्यसाथ बिजुलीका तार, केबल र कन्डक्टर उत्पादन गर्न उद्योग स्थापना गरिएको उद्योगका कार्यकारी निर्देशक रोहित गुप्ताले जनाए । चार अर्ब लगानीमा स्थापित उद्योगको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बुधबार उद्घाटन गरे । नेपालमा आत्मनिर्भर हुन सकिने वस्तुको अध्ययन गरेर नेपालमै उत्पादन गर्नुपर्ने उनको भनाइ छ । 

यस विषयमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने र सरकारले उद्योग सञ्चालनको वातावरण बनाउने उनले बताए । अहिले नेपालमा वार्षिक ८ हजार टन आल्मुनियम रडको खपत रहेको र माग बढ्दो रहेको राउतले बताए ।

उद्योगको वार्षिक २० हजार टन रड उत्पादन क्षमता रहेको जनाइएको छ । स्वदेशमा आयात कम गरेर विदेशमा समेत निर्यात गर्ने उद्योगको लक्ष्य छ । १५ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा १ सयभन्दा बढी कामदार छन् ।

कान्तिपुर

Link copied successfully