नेपाली उत्पादनले तान्यो देहरादूनका गोरखालीलाई

नयाँ पुस्ता मात्रै होइन, देहरादुनमा बसोबास गर्ने पुरानो पुस्तालाई पनि नेपाली उत्पादनले आकर्षित गरेको छ । मेला हेर्न पुगेका हरेकले केही न केही किनेर लगेका छन्

चैत्र १३, २०८१

भवानी भट्ट

Nepali production attracted the Gorkhali of Dehradun

देहरादून (भारत) — भारत उत्तराखण्डको राजधानी देहरादूनस्थित क्लामेन्टाउनमा बस्ने १७ वर्षीया यमु रानालाई अलैंचीको डाँठबाट बनाइएका हाते ब्याग, पर्स र म्याटहरु निकै मन परे । उनले किनेर पनि लगिन् । यति मात्रै होइन अल्लोबाट बनेका विभिन्न कपडाले पनि उनको ध्यान तान्यो । यही भएर उनी कपडा बनाउने तरिकादेखि यसका फाइदा बेफाइदाबारे निकै उत्सुक देखिन्थिन् । 

‘यस्ता कपडाबारे सुनेकी थिए, अहिले आफैँले देखे र किने पनि,’ रानाले भनिन्, ‘हामीजस्ता नयाँ पुस्तालाई केही थाहा थिएन, जान्न पनि पाइयो ।’ देहरादूनस्थित रेञ्जर ग्राउण्डमा सञ्चालन भइरहेका इण्डो नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा रहेका नेपाली हस्तकलादेखि विभिन्न खालका उत्पादनले उनी जस्तै धेरैलाई आकर्षित गरेको छ । 

कञ्चनपुर उद्योग बाणिज्य संघले आयोजना गरेको मेलामा विजयसालका भाँडा, सल्यानी खुकुरी र पल्पाली ढाका टोपी लगायतले पनि धेरैको ध्यान तानेको छ । यहाँका गोरखालीहरू किन्नेदेखि यसबारे जान्न निकै उत्सुक देखिन्छन् । 

नयाँ पुस्ता मात्रै होइन, देहरादुनमा बसोबास गर्ने पुरानो पुस्तालाई पनि नेपाली उत्पादनले आकर्षित गरेको छ । मेला हेर्न पुगेका हरेकले केही न केही किनेर लगेका छन् । अल्लोका कपडाबाट बनेका विभिन्न खालका पहिरन, पस्मिना, ढाकाका कपडा, रुद्राक्षको माला र विजयसालका भाँडा धेरै रुचाइएका वस्तु हुन् । 

‘हामीलाई त अलि अलि थाहा छ, हाम्रा छोराछोरीले बिर्सिसकेका थिए, अहिले धेरै कुरा थाहा पाउन थालेका छन्,’ बाग्लुङबाट वाल्यकालमै देहरादून पुगेर व्यापार व्यवसाय गरिरहेका लोकेश वनले भने, ‘लुगा कपडादेखि अन्य सामान मात्रै होइन, मेलामा प्रदर्शन हुने सांस्कृतिक कार्यक्रमबाट पनि धेरै कुरा सिक्न र जान्न पाइरहेका छन् ।’

उनी देहरदूनमा व्यवसायमा जमेका छन् । उनको आफन्त पनि बाग्लुङबाट बुटवलमा बसाइँ सरेका छन् । आठ/दश वर्षमा कहिले कांही भेटघाटका लागि बुटवल पुग्छन् । 

Nepali production attracted the Gorkhali of Dehradun

उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयका आर्थिक सहयोगमा कञ्चनपुर उद्योग बाणिज्य संघले नेपाली उत्पादनको प्रचार प्रसारसंगै पर्यटन विकासका लागि महोत्सव आयोजना गरेको हो । महोत्सवमा नेपाली उत्पादनको प्रचार प्रसार संगै व्यापार समेत भइरहेको छ । यसले व्यवसायीहरूबिच समेत सम्बन्ध स्थापना भएर व्यापार विस्तार हुने अपेक्षा राखिएको छ । 

‘विजयसालको भाँडाको माग धेरै भइरहेको छ, यसको उपयोगिताबारे पनि धेरैले सोधिरहेका छन्,’ मेलामा आफ्नो स्टल राखेका मेरिट काष्ठ उद्योगको सञ्चालक गणेश बोहोराले भने, ‘सबै कुरा बुझेपछि किनेरै लैजान्छन् ।’ उनी विगत एक दशकदेखि देश विदेशमा आफ्ना उत्पादनसहित मेला महोत्सवमा पुग्ने गरेका छन् । 

उत्पादन मात्रै होइन मेलामा प्रस्तुत गरिने विभिन्न किसिमका नेपाली कला संस्कृतिले देहरादुनमा रहेका गोरखालीको मात्रै होइन अन्य समुदायको समेत ध्यान तानेको छ । पञ्चे बाजादेखि नौमती बाजा र सालैजो नृत्यले सबैको ध्यान तानेको देखिन्थ्यो । 

बाणिज्य संघले गोरखा कल्याण समितिसंगको सहकार्यमा मेला आयोजना गरेको हो । कोरोना संक्रमणअघिदेखि सुरु गरेर यसपटक तेस्रो मेला सञ्चालन भइरहेको हो । ‘मेलाले नेपाली उत्पादनको बजारिकणसंगै व्यवसायीबिच पनि सहकार्य गराउँछ,’ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य जंगबहादुर मल्लले भने, ‘यस्ता मेलाले आर्थिक, सांस्कृतिक र व्यवसायिक रुपमा दुवै देशलाई फाइदा गर्छ ।’ 

Nepali production attracted the Gorkhali of Dehradun

महोत्सव उद्घाटनमा पुगेका उत्तराखण्डका मुख्य मन्त्री पुस्कर सिंह धामीले  पनि दुई देशबीचको सम्बन्धलाई यस्ता खालका मेलाले झन् प्रगाढ बनाउने बताए । उनले सीमा क्षेत्रमा हुने विभिन्न किसिमका समस्या समाधानमा पनि यस्ता मेला महोत्सवमा महत्वपूर्ण हुने बताए । 

मेला उद्घाटनका लागि पुगेको सुदूरपश्चिम प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावलदेखि प्रदेश सभा सदस्यहरू र व्यवसायीहरूले नाकामा सहज आजागमनका लागि आग्रह गरेका छन् । उनीहरूले बनबासा पुल खुल्ने समय बढाउन र टनकपुर ब्यारेजको पुल खुलाउने विषयमा समेत पहल गरिदिन मुख्य मन्त्रीलाई आग्रह गरे । मुख्य मन्त्री धामीले छिट्टै प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर पहल गर्ने आश्वासन दिएको उनीहरूले बताए ।

शुक्रबारदेखि सुरु भएको मेला ५ दिनसम्म चल्नेछ । मेला अवधीमा देहरादून र नेपालका व्यवसायीहरूबिच अन्तरक्रिया समेत गरिनेछ । यसले दुवैपक्षबिच व्यपार विस्तारदेखि सहजिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully