आँबुखैरेनी-पोखरा सडकमा बढ्यो प्रगति, मुग्लिन-आँबुखैरेनीमा छैन ठेक्काको सुरसार 

चैत्र १२, २०८१

विमल खतिवडा

Progress increased on Ambukhaireni-Pokhara road, Muglin-Ambukhaireni contract is not in progress

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको दूरी ८०.३३ किमि छ । जसको समग्र भौतिक प्रगति ६७ प्रतिशत छ । मुग्लिङ–आँबुखैरेनी (पूर्वी) खण्डको ९ किमिमा अझै ठेक्का हुन सकेको छैन । आँबुखैरेनी–जामुने खण्डमा ८२ प्रतिशत र जामुने–पोखरा (पश्चिम) खण्डको प्रगति ४६ प्रतिशत छ ।

आँबुखैरेनी–जामुनेको सुरु म्याद ०८१ वैशाखसम्म थियो । दोस्रोपटक म्याद थप गरेर असोजसम्म पुर्‍याइयो, तर काम सकिएन । फेरी तेस्रोपटक म्याद थपेर फागुनसम्म पुर्‍याइयो । चौथोपटक २०८२ असार १६ सम्म म्याद थपिएको छ । पूर्वीखण्डको दूरी ४१.४५ किमि र पश्चिम खण्डको दूरी ३८.८८ किमि छ । 

पूर्वी खण्डमा ३८ किमि सडक कालोपत्रको काम भएको र बाँकी कालोपत्रको काम एक महिनाभित्र सकिने आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चुडाराज ढकालले बताए । उक्त खण्डमा दुईतर्फी नै दोस्रो तहमा कालोपत्रको काम २० किमि सकिइसकेको छ । यसखण्डमा सर्भिस लेन डेढ किमि मात्र छ ।

‘पश्चिम खण्डमा २८ किमि कालोपत्र भएर सवारी सञ्चालनमा सहज भएको छ, जसमध्ये १४ किमि एकतर्फी कालोपत्र भएको छ,’ उनले भने, ‘ठेक्का भएकामध्ये दुई किमि भत्काइएको छैन, २०८२ जेठ १६ सम्म उक्त सडक खण्डमा एकतर्फी रूपमा सहज बनाइसक्छौं ।’ यसको पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी र पश्चिम खण्डको यानहुई काइयुआन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले लिएका हुन् ।

Progress increased on Ambukhaireni-Pokhara road, Muglin-Ambukhaireni contract is not in progressयता सेती र मादी पुलको ठेक्का छुट्टै गरिएको छ । सेती पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको हो । यसको ठेक्का रकम १ अर्ब ७ करोड २४ लाख रुपैयाँ छ । जसको अहिलेसम्म निर्माण प्रगति ४६ प्रतिशत छ । यसको लम्बाइ १ सय ९० मिटर रहेको र दुई–दुई लेनका दुई पुल निर्माण गरिएको हो । मादी पुलको ठेक्का अनक–जेटआईईसी जेभीले लिएको हो । यसको निर्माण प्रगति ६७ प्रतिशत छ । ३ सय ९० मिटर लामो यो पुल चार लेनको हुनेछ । दुवै पुलको ठेक्का २०७९ साउन २६ मा भएको र यसको म्याद ०८२ भदौ २१ सम्म छ । पुल र सडकको स्तरोन्नती एसीयाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणमा गरिएको हो ।

आँबुखैरेनी–पोखरा खण्डमा काम भइरहँदा मुग्लिन–आबुँखैरेनी सडक स्तरोन्नतिका लागि भने अझै ठेक्का गर्ने सुरसार छैन । यसको ठेक्का भए निर्माण गर्न साढे दुई वर्ष लाग्ने आयोजनाको भनाइ छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक साँघुरो छ । तर सवारी चाप भने उच्च छ ।

अत्यधिक सवारी चाप हुने उक्त खण्डमा मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस पर्छ । फेरि यो अप्ठ्यारो र जटिल खण्डभित्र पर्ने निर्देशक ढकालले बताए । जहाँ साँघुरो सडकका कारण दुर्घटनाको जोखिम पनि उच्च छ, उक्त खण्डको साढे ८ किमि सडकमा ठेक्का व्यवस्थापन हुन नसकेको हो । मुग्लिन पारिबाट सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको आयोजनाले जनाएको छ । 

उक्त सडक खण्डमा वारि र पारि दुई–दुई लेन सडक निर्माण गरिने छ । मुग्लिन बजारमुनि त्रिशूलीमा र मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस कट्नासाथ एक–एकवटा पक्की पुल बनाउने गरी डिजाइन गरिएको छ । मर्स्याङ्दी पावर हाउसबाट करिब ४ सय मिटर पर पुल बनाइने उनले बताए । त्यसपछि ४ लेन सडक निर्माण गरिनेछ । मुग्लिन–आँबुखैरेनी खण्डको निर्माणमा ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । यसको निर्माण अघि बढाउने सम्बन्धमा एडीबीसँग पनि कुरा भइरहेको उनको भनाइ छ । 

पथलैया–हेटौंडा–नारायणगढ सडक एडीबीअन्तर्गत नै स्तरोन्नति गर्नेगरी डिजाइनको काम भइरहेको र यही खण्डसँगै मुग्लिन–आँबुखैरेनी खण्डको ठेक्का गरिने आयोजना निर्देशक ढकालले बताए । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully