भैरहवाबाट अन्तर्राष्ट्रिय वायुसेवा काठमाडौं फर्किए

नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको अन्तर्राष्ट्रिय उडानतर्फको ग्रीष्मकालीन तालिकामा भैरहवामा विदेशी वायुसेवाको उडान शून्य

चैत्र ११, २०८१

सुरज कुँवर

International Airlines returned to Kathmandu from Bhairahawa

काठमाडौँ — थाइल्यान्ड र मध्यपूर्वबाट हिउँदयाममा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका चारवटा विदेशी वायुसेवाले ग्रीष्मकालीन मौसममा त्यहाँ उडान नगर्ने भएका छन् ।

बैंककबाट उडान गर्ने थाई एयर एसिया, कुवेतबाट उडान गर्ने जजिरा एयरवेज, दुबईबाट उडान गर्ने फ्लाई दुबई र दोहाबाट उडान गर्ने कतार एयरवेजले १८चैत २०८१ देखि सुरु भई ८ कात्तिक ०८२ सम्म सञ्चालन हुने ग्रीष्मकालीन मौसममा भैरहवामा उडान नगर्ने भएका हुन । यीबाहेक अरु विदेशी वायुसेवाले पनि ग्रीष्मकालीन मौसममा भैरहवामा उडान गर्न इच्छा व्यक्त गरेनन् ।

देशभरका विमानस्थलमा उडान सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हिउँद र गर्मी यामका लागि दुईपटक उडान तालिकाका लागि आह्वान गर्छ । यो अन्तर्राष्ट्रिय नियम हो । विभिन्न देशसँग भएको हवाई सम्झौताअनुसार काठमाडौं विमानस्थलमा रहेको स्लट म्यानेजमेन्ट कमिटीले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका तालिका स्वीकृत गर्छ । यसैअनुसार काठमाडौं विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाको संयोजकत्वको ११ सदस्यीय समितिले फागुन १९ गते ग्रीष्मकालीन मौसमका लागि काठमाडौं, भैरहवा र पोखरासहितका विमानस्थलकालागि तालिका स्वीकृतिका लागि प्राधिकरणमा सिफारिस गरेको थियो ।

उक्त समितिले सिफारिस गरेको तालिकालाई प्राधिकरणले केही दिनअघि पारित गरेको थियो । ‘पर्याप्त लोड (यात्रु/कार्गो नभएका कारण विदेशी वायुसेवाले गर्मी सिजनमा भैरहवामा उडान नगर्ने भएका हुन,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने,‘ त्यहाँ उडान गर्दै आएका कतार, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले काठमाडौंमा उडान गर्ने भएका छन् ।’ उनका अनुसार जजिरा र थाई एयर एसियाले दैनिक एक/एक तथा फ्लाई दुबईले सातामा ४ वटा उडान काठमाडौंका लागि गर्ने अनुमति पाएको छ ।

यसैबीच काठमाडौं विमानस्थल १९ चैतदेखि बिहान ६ बजेबाट राति १२ बजेसम्म १८ घण्टा सञ्चालनमा आउने भएको छ । गत वर्ष काठमाडौं विमानस्थल राति ३ बजेसम्म २१ घण्टा सञ्चालनमा ल्याइएको थियो । यसपटक भने १२ बजेपछि बिहान ६ बजेसम्म पूर्वाधारका काम हुने छन् । ‘गत वर्ष ग्रीष्मयाममा राति १२ बजेपछि बिहान ३ बजेसम्म कतार र फ्लाई दुबईको दुइटा उडान थिए । योपटक ती उडानलाई राति १२ बजेभित्र समेटेर तालिका ल्याइएको छ,’ सहप्रवक्ता भुलले भने ।

पूर्वाधार विस्तारका लागि भन्दै कात्तिक २३ देखि काठमाडौं विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर १४ घन्टामात्रै सञ्चालनमा ल्याइएको थियो । राति १० घण्टा पूर्वाधार विस्तारका कामलाई प्राथमिकता दिइएको थियो । राति १० बजेपछि काठमाडौं विमानस्थल बन्द हुने भएपछि प्राधिकरणले दैनिक चारवटा उडान गर्ने तथा काठमाडौंमा नयाँ उडान अनुमति माग्ने वायुसेवा कतार, फ्लाई दुबई, थाई एयर एसिया र जजिराका उडानलाई सर्तसहित भैरहवा पठाएको थियो । ‘यी सबै वायुसेवाले भैरहवामा हरेक उडानमा लाखौं रुपैयाँ नोक्सानी बेहोर्नु परेको बताए,’ प्राधिकरणका एक उच्च अधिकारीले भने,‘निजी क्षेत्रलाई हरेक दिन करोडौं घाटा बेहोर्न दबाद दिन सकिँदैन । राज्यले छुटसहितका प्याकेज ल्याउदा पनि भैरहवा सञ्चालन गर्न सकिएन ।’

जाडोयाममा हुस्सु तथा तुवाँलोका कारण भैरहवामा जहाजलाई लो भिजिबिलिटीमा सुरक्षित अवतरण गराउन स्याटेलाइटमा आधारित आरएनपी–एआर प्रणाली लागू गरिएको थियो । यो प्रणालीले चितवन पूर्वबाट पस्ने अन्तर्राष्ट्रिय वायुयानलाई न्यूनतम २२ सय मिटर भिजिबिलिटी हुनुपर्नेमा ९ सय मिटरमै अवतरण गराउन सकिने सुविधा थियो । तर, पनि विदेशी वायुसेवाले यो प्रणाली अपनाउन नपाउँदै यात्रुको कमीकै कारण उडान झिकेका थिए ।

ग्रीष्मकालीन मौसमका लागि प्राधिकरणले नेपालका बुद्ध एयर, हिमालय एयरलायन्स र नेपाल वायुसेवा निगमसहित ३० वटा वायुसेवाको उडान तालिका स्वीकृत गरेको छ । नयाँ स्वीकृत तालिकामा भारतीय वायुसेवा स्पाइसजेट, एयर इन्डिया एक्सप्रेस र थाई एयर एसियाका नयाँ उडान थप भएका छन् । स्पाइसजेटले दिल्ली–काठमाडौं–दिल्ली दैनिक, एयर इन्डिया एक्सप्रेसले कोलकाता–काठमाडौं–बैंङ्लुरु दैनिक तथा बैङ्लुरु–काठमाडौं–कोलकाता दैनिक उडानको अनुमति लिएको छ । त्यस्तै थाई एयर एसियाले पनि दैनिक बैंकक–काठमाडौं–बैंकक उडान अनुमति लिएको छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully