काठमाडौँ — स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताएका छन् । आइतबार काठमाडौंमा अयाोजित कार्यक्रममा बोल्दै उनले अहिले पनि ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भएको बताएका हुन् ।
‘आजका दिनमा थुप्रै डिबेट छन् । यति हुँदाहुँदै पनि हामी लोडसेडिङ हुन्छ, हुँदैन ? र भारतले दिनभरको बिजुली मात्रै दिन्छ भनेर छलफल गरिरहेका छौँ । के भन्छ सरकार र विद्युत् प्राधिकरण भन्नेकुरामा डिबेट गरिरहेका छौँ । हामीले के बुझ्नुपर्छ भने हामीसँग पर्याप्त मात्रामा बिजुली रहेनछ भन्ने कुरा बुझ्नुपर्छ । हाम्रो बिजुलीले हामी साँच्चै नै लोडसेडिङ मुक्त हुनलाई घरमा मात्र होइन, इन्डस्ट्री चल्नको लागि उत्पादनमै जोड दिनुपर्छ,’अध्यक्ष कार्कीले भने ।
२८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने कुरामा आफूहरू अघि बढिरहेको समेत उनको भनाइ छ । ‘वास्तवमा हामी २८ हजार ५ सयको कुरामा अघि बढिरहेका छौँ । त्यो पूरा गर्न भनेर हामीले २० वटा जति कुरा लेखेर हामीले मन्त्रालयमा दिएका छौँ । शक्तिशाली ऊर्जा मन्त्रालय हुनुपर्यो । एकद्वार प्रणाली हुनुपर्छ,’ उनले भने ।
अध्यक्ष कार्कीले नेपाललाई समृद्ध बनाउने पाटो जलविद्युत् नै रहेको बताए । ऊर्जाको उत्पादनलाई बढाउन सके डिजेल र पेट्रोलको आयात घटाउन सकिने उनको भनाइ छ । ऊर्जा क्षेत्रमा अहिले ६५ लाख भन्दा बढी नेपालीले लगानी गरेकोसमेत उनले बताए ।
