ऋणको जोखिम घटाउन इन्भेस्टमेन्ट कम्पनी खडा गर्ने घरजग्गा व्यवसायीको निर्णय

आफ्नो लगानी क्षमता नचिन्दा बैंकका कारण संकटमा परेको व्यवसायीको भनाइ

चैत्र ९, २०८१

दीपेन्द्र बडुवाल

A real estate businessman's decision to set up an investment company to reduce credit risk

भैरहवा — मुलुकको आर्थिक अवस्था लामो समयदेखि प्रतिकूल रहेको भन्दै घरजग्गा व्यवसायीले आफ्नै लगानीमा इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गरेर अघि बढ्ने निर्णय गरेका छन् ।

मुलुकभरका घरजग्गा व्यवसायीको थोरैथोरै लगानीबाट सञ्चालन हुने यस्तो कम्पनीले बैंकिङ ऋणबाट मुक्ति दिलाउने उनीहरुको भनाइ छ । शनिबार रुपन्देही घरजग्गा व्यवसायी संघको अधिवेशनमा सहभागीले कोरोना महामारीपछि थलिएको व्यवसाय उकास्न इन्भेस्टमेन्ट कम्पनी सञ्चालनको निर्णय गरिएको जनाए । 

शुक्रबार साँझ बसेको घरजग्गा व्यवसायी महासंघ केन्द्रीय समितिको बैठकले व्यवसायीबाट एक–एक लाख रुपैयाँ संकलन गरेर कम्पनी स्थापनाको निर्णय गरेको छ । अधिवेशनको उद्घाटन सत्रमा सहभागी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले आफ्नो लगानी क्षमता नचिन्दा व्यवसायी बैंकका कारण संकटमा परेको जनाए । ‘अब आर्थिक संकलन गरेर भए पनि आफ्नो र सामाजिक हितमा काम गर्ने बेला भयो,’ उनले भने, ‘त्यसको सुरुवात रुपन्देहीबाट गर्न लागेका छौं ।’ महासंघले सुरु गर्ने कम्पनीमा मुलुकभरका व्यवसायी समेटेर अगाडि बढ्ने उनको भनाइ छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले मुलुकमा भूकम्प र कोरोना महामारीपछि घरजग्गाको कारोबार ठप्प हुँदा व्यवसायीलाई बैंकको ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्ताले मानसिक समस्यामा पुर्‍याएको उल्लेख गरे । ‘अब यस्तो तनावबाट मुक्तिका लागि इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्न लागेको हौं,’ उनले भने, ‘अब घरजग्गामा कम्पनीबाट लगानी गर्नेछौं, सकभर बैंकमा जानु नपरोस् भन्ने उद्देश्य हो ।’ कम्पनी सञ्चालनको विषयमा महासंघले सातै प्रदेशमा बहस चलाउने उनले बताए । 

व्यवसायी मीनमान श्रेष्ठले सरकारले घरजग्गा कारोबारलाई उद्योगको मान्यता दिन आनाकानी गरेकाले मर्कामा परेको बताए । ‘हामीले वर्षौंदेखि माग गरे पनि सरकारले रियलस्टेटलाई उद्योगको मान्यता दिएन,’ उनले भने, ‘अब उद्योगको मान्यता दिलाउन मुलुकभरबाट दबाब दिनुस् ।’

काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायत ठूला सहरबाट घरजग्गा व्यवसायी भेला भएका थिए । 

उद्योगी तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले मुलुकमा घरजग्गा लगायत क्षेत्रमा लामो समयदेखिको निराशा चिर्न पनि व्यावसायी एकजुट हुनुपरेको बताए । ‘एक समय विराटनगर र वीरगन्ज मुलुकको औद्योगिक र व्यपारिक केन्द्र थिए,’ उनले भने, ‘अहिले मुलुकको औद्योगिक र व्यापारिक केन्द्र रुपन्देही हो ।’ अन्य क्षेत्रका व्यवसायी मौन रहेका बेला रुपन्देहीले आर्थिक चहलपहल हुने गरी व्यवसायीको भेला आयोजना गरेको उनले बताए । सरकारले रियलस्टेट क्षेत्रका समस्या हल गर्नुपर्नेमा आवश्यकताभन्दा बढी नियमन गरेर संकट सिर्जना गरेको उनले आरोप लगाए । ‘अरु ठाउँमा लगानीमा देखिएका समस्या हटाएर सरकारले व्यवसायीलाई सहज तुल्याउछ,’ उनले भने, ‘हाम्रो ठिक उल्टो छ, यहाँ लगानीमा कसरी भाँजो हाल्न सकिन्छ भन्नेमा सरकारको ध्यान हुन्छ ।’ 

घरजग्गा व्यावसायी संघ रुपन्देहीका अध्यक्ष दशरथ पौडेलले जिल्लामा लगानीको वातावरण अनुकूल रहेको जानकारी दिन भेला आयोजना गरिएको बताए । 

दीपेन्द्र

Link copied successfully