गुरुङ संस्कृति झल्काउने सिक्लेस संग्रहालय

चैत्र ८, २०८१

अनुप पौडेल

Sikless Museum which reflects the Gurung culture

कास्की — सिक्लेसकी हुमकुमारी गुरूङ गाउँकै अन्नपूर्ण माविमा पढाउँछिन्। यसबाहेक गाउँमा उनको अर्को परिचय छ। उनी गाउँलेका लागि ‘म्युजियमकी अध्यक्ष’ हुन्। सिक्लेसमा गुरूङ समुदायको रहनसहन, संस्कृति र प्रयोग हुने परम्परागत सामानले संग्रहालय भरिएको छ।

हुमकुमारी यही संग्रहालय (म्युजियम) व्यवस्थापन उपसमिति अध्यक्ष हुन्। मादी गाउँपालिका–१ स्थित ‘इको म्युजियम सिक्लेस’का दुई विशेषता छन्। पहिलो, यहाँ गुरूङ समुदायबारे मसिनो गरेर बुझ्न सकिन्छ। दोस्रो यो म्युजियमको व्यवस्थापनको जिम्मा महिलाहरुलाई सुम्पिइएको छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा ०७१ वैशाख १ मा म्युजियम स्थापना भएको थियो। स्थापनादेखि नै यसको जिम्मेवारी हुमकुमारीको नेतृत्वमा गाउँका १५ जना महिलालाई दिइएको छ। यो संग्रहालय एक्याप अन्तर्गतको संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेस मातहत छ।

गाउँका अन्य संस्थाको नेतृत्वमा प्रायः पुरूष बाहुल्यता भएकाले संग्रहालयको जिम्मा महिलालाई दिइएको समितिका सचिव गेहेन्द्र गुरूङले सुनाए। ‘सिक्लेसका सबै संघसंस्था, समितिमा पुरूषको नेतृत्व, बाहुल्यता रहृयो । नयाँ ढंगले जाऔं, महिला वा आमा समूहलाई सञ्चालन गर्न दिउँ भनेर उपसमिति बनायौं,’ उनले भने, ‘त्यसपछि हामीले महिलालाई राखेर यो म्युजियमको व्यवस्थापन उपसमिति बनायौं ।’

हुमकुमारी अध्यक्ष, जमुना गुरूङ उपाध्यक्ष, कृष्टि गुरूङ सचिव, गेसुबा गुरूङ कोषाध्यक्ष, नन्दकला गुरूङ, हेमादेवी गुरूङ, रूपा गुरूङ, औसुबा गुरूङ, कुस्मा गुरूङ, मेनसुबा गुरूङ, सन्तोषी गुरूङ, मुना गुरूङ, इन्द्रकुमारी गुरूङ, सीता परियार र लिलिमा गरूङ सदस्य रहने गरी म्युजियम स्थापनाकालमा व्यवस्थापन उपसमिति बनेको थियो।

Sikless Museum which reflects the Gurung cultureसिक्लेस्थित संग्रहालय । तस्बिरः अनुप पौडेल/कान्तिपुर

यी १५ जनामध्ये अध्यक्ष हुमकुमारी, उपाध्यक्ष जमुना, कोषाध्यक्ष गेसुबा, सदस्य हेमा, औसुबा, रूपा, नन्दकला, मेनसुबा, कुस्मा त्यतिबेला अन्नपूर्ण माविमा पढाउँथे । शिक्षण पेशामा लागेकाहरू जान्ने–बुझ्ने हुन्छन् भनेर त्यतिबेला संरक्षण क्षेत्र विकास समिति अध्यक्ष मनबहादुर गुरूङ (हालका प्रतिनिधिसभा सदस्य) र गाउँका अगुवाले शिक्षकहरुलाई व्यवस्थापनको जिम्मा दिएका थिए।

‘सुरूमा समितिमा ८/९ जना शिक्षिका थियौं । अहिले कोही गाउँ बाहिर जानुभयो । समितिमा अब ६ जना शिक्षिका नै छौं,’ अध्यक्ष हुमकुमारीले सुनाइन् । समितिको बैठक दुई महिनामा एकपल्ट बस्ने गरेको उनले सुनाइन् । १० वर्षदेखि काम गरेकाले उनले नयाँ समिति बनाउन तीन महिनाअघि एक्यापलाई आग्रह गरेकी थिइन् । तर, एक्यापले शिक्षिकाहरू नै समितिमा रहँदा राम्रो भएको भनेर नयाँ नेतृत्व ल्याउन नमानेको उनले सुनाइन्।

समितिमा रहेका सबै ३० देखि ५० वर्ष उमेर समूहका छन् । संग्रहालयमा परम्परागत नापतौलका सामान तामे माना, तामे पाथी, आने आने (डुङ्ग्रो), धार्नी, तराजु, बाद्यवादनका सामग्री मुरली, बाँसुरी, सारङ्गी, नरसिंगा, ढोल पनि राखिएका छन् । रेती (औजारलाई धारिलो बनाउन प्रयोग हुने औजार), स्याँई (उन काट्ने औजार), खुर्पिटो, घन, गुरूङ भान्सा, लामा गुरू पच्यु, घ्याब्री र उनीहरूले प्रयोग गर्ने झ्याम्प्टा, ढोल, ढ्यांग्रो पनि संग्रहालयको पहिलो तलामा राखिएको छ ।

गुरूङ समुदायसँग सम्बन्धित करिब ३ सय प्रकारका सामान संग्रहालयमा राखिएको उपसमिति सचिवसमेत रहेकी संग्रहालयकी व्यवस्थापक कृष्टि गुरूङले बताइन् । एक्याप र संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसको पहलमा सबै सामग्री गाउँलेबाटै संकलन गरिएको उनले सुनाइन् । सिक्लेसका संरक्षणकर्मी डा.चन्द्र गुरुङसहित सवार हेलिकप्टर ०६३ असोज ७ मा ताप्लेजुङको घुन्सामा दुर्घटनाग्रस्त भएको थियो ।

Sikless Museum which reflects the Gurung culture

दुर्घटनामा ज्यान गुमाएका गुरूङ र मिङ्मा नोर्बु शेर्पाको स्मृतिमा संग्रहालयको दोस्रो तलामा छुट्टै कक्ष बनाइएको छ । त्यहाँ उनीहरूले देशविदेशका मञ्चमा सम्बोधन गर्दाका, घुमफिर, उच्च पदस्थ अधिकारीसँगका तस्बिर र राहदानी राखिएका छन् । गुरूङको परिवारसँग समन्वय गरेर उनले प्रयोग गरेका कपडा, क्यामेरा, उनका कविता र गीत, पाएका अवार्ड पनि संग्रहालयमा राखिएको छ । त्यहाँ मादी गाउँपालिकाभर पाइने पुतली पनि संग्रह गरिएका छन् ।

सिक्लेस भ्रमणमा आउनेमध्ये संग्रहालय अवलोकन गर्न धेरैजसो विद्यार्थी पुग्ने गरेको व्यवस्थापक गुरूङले बताइन् । ‘नयाँ पुस्ताले पुरानो सामान देखेको छैन । म्युजियममा हामीले पुरानो–पुरानो सामान जोगाएर राखेका छौं,’ उनले भनिन्, ‘अल्लि उमेर पुगेकाहरू कतिले पहिल्यै देखेको भएर आउनुहुन्न । विद्यार्थीहरू धेरैले नदेखेको भएर हेर्न भनेर पस्नुहुन्छ ।’

संग्रहालय भएको घर २३ वर्षअघि एक्यापले बनाएको हो । त्यहाँ एक्यापको बैठक, फोटो प्रदर्शनी, वृत्तचित्र र फिल्म प्रदर्शनी हुन्थ्यो । संरक्षण क्षेत्र व्यवस्थापन समितिको योजना अनुसार त्यही घरलाई ०७१ मा संग्रहालयको स्वरुप दिइएको हो । एक्यापले वार्षिक बजेटमा मर्मतसम्भारका लागि बजेट विनियोजन गर्छ । त्यसबाहेकका संग्रहालय प्रवेशबापत् संकलन हुने शुल्कबाट अन्य खर्च गरिने व्यवस्थापक कृष्टिले सुनाइन् । चालु आर्थिक वर्षमा एक्यापले रंगरोगनका लागि १ लाख ५० हजार रूपैयाँ विनियोजन गरेको छ ।

Sikless Museum which reflects the Gurung cultureसिक्लेसस्थित संग्रहालयकी व्यवस्थापक एवं व्यवस्थापन उपसमिति सचिव कृष्टि गुरूङ । तस्बिरः अनुप पौडेल/कान्तिपुर

उक्त बजेटबाट संग्रहालय भवन रंगरोगनको काम भइरहेको व्यवस्थापक गुरूङले बताइन् । संग्रहालय अवलोकन गर्न विदेशीलाई १ सय ५०, नेपालीलाई ५० र विद्यार्थीलाई ३० रूपैयाँ शुल्क लिइन्छ । गुरूङ पोसाक पहिरिएर तस्बिर खिच्न पर्यटक संग्रहालयसम्म पुग्छन् । गुरूङ पहिरन लगाएबापत १ सय ५० रूपैयाँ लिइन्छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ हजार ३९ जनाले संग्रहालय अवलोकन गरेको व्यवस्थापक गुरूङले जानकारी दिइन् । उनका अनुसार यो संख्या संग्रहालय स्थापना भएदेखि हालसम्मकै धेरै हो । ‘१० वर्षमा अहिलेसम्म वर्षभर २ हजार जना आउनुभएको थिएन । यो वर्ष ८ महिनामै २ हजार जना यहाँ आएका छन्,’ उनले सुनाइन् । गत वर्ष १ हजार ७ सय जनाले संग्रहालय अवलोकन गरेका थिए ।

अनुप पौडेल

Link copied successfully