देहरादुनमा इण्डो–नेपाल व्यापार मेला सुरु

चैत्र ८, २०८१

भवानी भट्ट

Indo-Nepal Trade Fair begins in Dehradun

देहरादुन, भारत — इण्डो–नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला शुक्रबारदेखि सुरु भएको छ । उद्योग मन्त्रालयको सहयोग तथा कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा मेला सुरु भएको हो । मेलामा नेपाली हस्तकलासँगै विभिन्न खालका घरेलु उत्पादन राखिएको छ । 

पाल्पाली ढाका, रुद्राक्षको माला, अलैंजीको पातबाट बनेका विभिन्न किसिमका कपडा तथा वस्तु, विजयसालका भाँडा र अल्लोबाट बनाइएको विभिन्न किसिमका कपडाहरु राखिएका छन् । गोरखालीहरुको बाहुल्यता रहेको देहरादुनमा नेपाली हस्तकला र साना तथा मझौला उद्योगमा उत्पादन गरिएको वस्तुले सबैको ध्यान तानेको छ । मेलामा नेपाली र भारतीय उत्पादनका गरी करिब सय स्टलहरु राखिएका छन् । जसमा ५० स्टल नेपाली रहेका छन् ।

मेलाको उद्घाटन उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले गरे । उनले यस्ता खालका मेलाले दुवै देशका सम्बन्ध अझ उचाइमा पुग्ने बताए । ‘यसले आर्थिक सँगै सांस्कृतिक र पर्यटकीय क्षेत्रमा समेत दुवैतर्फ फाइदा पुग्नेछ,’ मुख्यमन्त्री धामीले भने, ‘दुवै देशका व्यवासयीहरुबीच पनि सम्बन्ध स्थापित हुनेछ ।’ 

उनले सीमा क्षेत्रमा हुने विभिन्न समस्यादेखि बनबासा पुल खुल्ने समय बढाउन र अन्य विभिन्न परियोजनाहरु लागू गराउने विषयमा पहल गर्ने बताए । हिन्दी र नेपाली दुवै भाषामा भाषण गरेका उनले दुई देशबीचको सम्बन्ध अतुलनीय भएकाले यसलाई अझ उचाइमा पुर्‍याउन सबैले योगदान दिनुपर्ने बताए । 

उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललगायत प्रदेशसभा सदस्यसमेत उपस्थित थिए । उद्योग वाणिज्यसँगै गोरखा कल्याण समितिसँग सहकार्य गरेर मेला आयोजना गरेको हो । देहरादुनमा कञ्चनपुर उद्योग बाणिज्य संघले कोरोना संक्रमण अघिदेखि सुरु मेला सञ्चालन गर्दै आएको छ । यस पटकको मेला तेस्रो हो ।

‘मेलाले नेपाली उत्पादनको प्रचार प्रसारसँगै दुई देशबीचका व्यवसायीबीच पनि सम्बन्ध बनाएको छ,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले भने । आगामी दिनमा पनि मेलालाई निरन्तरता दिइने बताए । मेला ५ दिनसम्म चल्नेछ । 

नेपालका विभिन्न जिल्लाबाट व्यवसायी आफ्ना उत्पादनसहित पुगेका छन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully