औद्योगिक क्षेत्रमा बिजुलीको समस्या समाधान गर्न महासंघको आग्रह

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Federation's request to solve the problem of electricity in the industrial sector

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित-अघोषित लोडसेडिङले औद्योगिक उत्पादन घटेको जनाएको छ ।  देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत् कटौतीले औद्योगिक उत्पादन र व्यावसायिक वातावरणमा गम्भीर असर पुर्‍याइरहेको जनाएको छ । 

‘लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘नियमित तथा आकस्मिक विद्युत् अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्‍याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ ।’

बारम्बार दोहोरिने विद्युत् आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्‍याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेका महासंघले जनाएको छ । ‘यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना छ,’ विज्ञप्तिमा उल्लेख छ । 

महासंघले उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरेको छ । दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसाग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउनु पर्ने महासंघले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully