उद्योगलाई नियमित बिजुली आपूर्ति गर्न परिसंघको आग्रह

चैत्र ७, २०८१

कान्तिपुर संवाददाता

Confederation's request for regular power supply to industries

काठमाडौँ — नेपाल उद्योग परिसंघले उद्योगहरुमा लोडसेडिङ गरिएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उद्योगहरुमा विद्युत् उपलब्ध नगराइँदा उत्पादन लागत बढेको परिसंघले जनाएको छ ।

‘केही समय अगाडि पनि नेपालका उद्योगहरुमा लोडसेडिङ गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् निर्यात गरेको थियो,’ परिसंघको विज्ञप्तिमा भनिएको छ, ‘उद्योगहरुमा विद्युत् उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको थियो ।’

परिसंघले फेरि दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरुलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको जनाएको छ ।  ‘मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाएको परिसंघको भनाइ छ ।

सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको परिसंघले जनाएको छ ।

‘मुलुकमा विद्युत् बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत् उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरुमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ?,’ विज्ञप्तिमा उल्लेख छ ।

उद्योगहरुका लागि बिजुली कच्चा पदार्थ रहेको भन्दै परिसंघले कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव नहुने जनाएको छ । उद्योगलाई नियमित विद्युत् आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघ सरकारसँग आग्रह गरेको छ । 

कान्तिपुर

Link copied successfully