मंगलबार कारोबारमा आएका मध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौँ — मंगलबार ७.६६ अंकले घटेसँगै समग्र नेप्से परिसूचक २ हजार ७ सय अंकभन्दा तल झरेको छ । सोमबारको तुलनामा ०.२८ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९७.०४ अंकमा ओर्लेर बन्द भएको छ । यो करिब एक महिनाअघिको अवस्था हो । यसअघि फागुन ४ मा नेप्से २ हजार ६ सय ९८.०३ अंकमा थियो । त्यसयता बढेर गत फागुन २० मा नेप्से २ हजार ८ सय ४६.३० सम्म पुगेको थियो ।
उक्त बिन्दुबाट फेरि ओरालो लागेको नेप्से मंगलबार २ हजार ७ सयभन्दा तल झरेको हो । यो साताका तीन दिन (आइतबार, सोमबार र मंगलबार) नेप्से घटेको छ । लगातार नेप्से घट्दा लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेकाले सेयर बजारमा नकारात्मक असर परेको ब्रोकरहरू बताउँछन् । यही कारण ब्याजदर घटिरहेको, लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसकिरहेको बेला सेयर बजारले सुधारको बाटो समात्न नसकेको र लगानीकर्तालाई थप अन्योल बनाएको जानकार बताउँछन् ।
मंगलबार कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयरमूल्य बढ्यो, १५३ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रह्यो । ५० हजार ८ सय ३४ पटकको कारोबारमा ८२ लाख ३७ हजार ९ सय २ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सोमबारको तुलनामा मंगलबार कारोबार संख्या, कारोबार सेयर संख्या (कित्ता), कारोबार रकम सबै घटेको हो । सोमबार ५७ हजार ५ सय ८५ पटकको कारोबारमा ९९ लाख ३५ हजार ८ सय ७२ कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा करिब ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ‘अन्य’ बाहेक सबैको परिसूचक घटे । तीमध्ये पनि जीवन बिमाको ९५.३४ र निर्जीवन बिमाको ६९.५६ अंकले घटेको छ । व्यापार उपसमूहले पनि बैंकिङ समूहलाई नै पछ्याएको छ । जसअनुसार व्यापार उपसमूहको परिसूचक २७.८५ अंकले घटेको छ । उक्त दिन अन्य उपसमूहको परिसूचक ०.११ प्रतिशतले मात्र सकारात्मक बनेको छ भने बाँकी सबैको परिसूचक एक प्रतिशतभन्दा कमले घटेको छ ।
समग्र नेप्से साढे सात अंकले घट्दा पनि केही कम्पनीको सेयर मूल्य बढेको छ । उक्त दिन सेयर मूल्य बढ्ने मुख्य पाँच कम्पनीमा मिथिला लघुवित्त, हिमालयन पावर पार्टनर, भूगोल इनर्जी डेभलपमेन्ट, पाँचथर पावर कम्पनी र धौलागिरी लघुवित्त छन् । तर, सामुदायिक लघुवित्त, राप्ती हाइड्रो, आरबीबी सामूहिक लगानी कोष (वान) अपर सोलु हाइड्रो र सयपत्री हाइड्रोपावर कम्पनी सबैभन्दा धेरै गुमाउने कम्पनीहरूको पहिलो पाँच कम्पनीको सूचीमा छन् ।
