नेपालका साढे ३ लाख स्मार्टफोनमा ई–सिम

नेपाल टेलिकमका ई–सिम प्रयोगकर्ताको संख्या १ लाख ८५ हजार र एनसेलको १ लाख ५० हजार

चैत्र ५, २०८१

सजना बराल

E-SIM in 3.5 lakh smartphones of Nepal

काठमाडौँ — नेपालमा ई–सिम प्रयोगकर्ताको संख्या अढाई वर्षमा साढे तीन लाख पुगेको छ । नेपाल टेलिकमको १ लाख ८५ हजार र एनसेलको १ लाख ५० हजार पुगेको कम्पनीहरूले जनाएका छन् । नेपालमा २०७९ भदौ ३१ देखि सरकारी स्वामित्वको नेपाल टेलिकमले काठमाडौंको सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ई–सिम वितरण सुरु गरेको थियो ।

कम्पनीले २०७९ मंसिरदेखि देशभरका सम्पूर्ण दूरसञ्चार कार्यालयबाट ई–सिम वितरण गर्न थालेकामा २०८१ माघ २२ देखि अनलाइनबाटै यस्तो सिम लिन मिल्ने सुविधा ल्याएको थियो । ‘नेपालमा ई–सिमको एडप्सन राम्रै मान्नुपर्छ, धेरै चासो आइरहेको छ, विदेशबाट ई–सिम लिन मिल्छ कि मिल्दैन भनेर सोध्नुहुन्छ,’ नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले भने, ‘अनलाइनबाटै हामीले २५ सय जति ई–सिम जारी गरिसकेका छौं ।’ नेपाल टेलिकमको ई–सिम नेपाल विद्युत् प्राधिकरणको स्मार्ट मिटरमा पनि प्रयोग हुन्छ । यसका लागि टेलिकमले २०८० वैशाखमा प्राधिकरणलाई १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराएको थियो ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पनि २०७९ मंसिर ९ देखि ई–सिम वितरण गर्न थालेको हो । नेपालमा ई–सिम कार्यान्वयन गर्न एनसेलले बेलायतको अग्रणी ई–सिम प्लेटफर्म प्रदायक ट्रुफोनसँग सहकार्यसमेत गरेको थियो । ‘अहिले एनसेलको नेटवर्कमा करिब १ लाख ५० हजार ई–सिम प्रयोगकर्ता छन्,’ कम्पनीले कान्तिपुरलाई उपलब्ध गराएको विवरणमा भनिएको छ, ‘ई–सिम चल्ने मोबाइल ह्यान्डसेटको संख्या बढेसँगै र ई–सिम लिने प्रक्रिया सहज हुँदै जाँदा यसको माग पनि बिस्तारै बढिरहेको छ ।’

प्रयोगकर्ताले आफ्नो सिमकार्डलाई ई–सिममा सहजै परिवर्तन गर्न सक्ने विषयमा नेपाल टेलिकमले केही समयअघि सामाजिक सञ्जालमा गरेको पोस्टमा धेरैजसोले ‘भेरिफिकेसन’ मा समस्या आएको गुनासो गरेका थिए । भेरिफिकेसनमा कडाइ गरिएकाले यस्तो भइरहेको टेलिकमका प्रवक्ता ढकाल बताउँछन् । ‘सिमकार्ड प्रयोगकर्ताले फाराममा भरेको नाम र हाम्रो सिस्टममा भएको नाम मिलेन भने भेरिफिकेसन अस्वीकृत हुन्छ,’ उनले भने, ‘सिम दुरुपयोग रोक्न यसमा हामीले कडाइ गरेका छौं ।’ 

E-SIM in 3.5 lakh smartphones of Nepal

एनसेलका प्रयोगकर्ताले आफ्नो सिमलाई ई–सिममा अपग्रेड गर्दा १ सय रुपैयाँ शुल्क लाग्छ । ई–सिम लिन चाहने नेपाल टेलिकमका प्रयोगकर्ताले पनि सिममा न्यूनतम ५० रुपैयाँ ब्यालेन्स राखेको हुनुपर्छ । तर कम्पनीले ई–सिम भने निःशुल्क उपलब्ध गराइरहेको छ । आफ्नो मोबाइलबाट  *#०६#  डायल गर्दा ईआईडी लेखिएको संकेतसहित नम्बर देखिए उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।

ई–सिम एक प्रकारको डिजिटल सिम हो । यो मोबाइल डिभाइसभित्रै इम्बेड गरिन्छ । यसले भौतिक सिमकार्डजस्तै काम गर्छ । यसलाई राख्न र निकाल्न नपर्ने भएकाले ई–सिम हराउने वा बिग्रने समस्या हुँदैन । एउटै ई–सिममा विभिन्न नेटवर्क प्रोफाइल राख्न सकिने भएकाले प्रयोगकर्ताले आफूलाई चाहेको नेटवर्कमा सहजै स्विच गर्न मिल्छ । 

नेपाल टेलिकम, भारती एयटेल, आजिएटाजस्ता दूरसञ्चार सेवा प्रदायकको विश्वव्यापी सञ्जाल ‘जीएसएमए’ अन्तर्गतको मोबाइल वर्ल्ड लाइभको पछिल्लो सर्वेक्षणअनुसार हाल ६९ देशका १ सय ७५ भन्दा बढी मोबाइल नेटवर्क अपरेटरले ई–सिम सेवा प्रदान गरिरहेका छन् । विदेश यात्रा गर्दा ई–सिम सहज मानिन्छ । किनभने यसले सिमकार्ड किनिरहनुपर्ने झन्झटको अन्त्य गर्छ । प्रयोगकर्ताले अनलाइनबाटै कुनै पनि अपरेटरको ई–सिम डाउनलोड गरेर चलाउन सक्छन् । यसले रोमिङ सेवामा महँगो शुल्क तिर्ने बाध्यता पनि हटाइदिन्छ ।

हालै प्रकाशित ‘मोबाइल वर्ल्ड लाइभ इन्डस्ट्री सर्भे रिपोर्ट २०२५’ का अनुसार सन् २०२५ भित्र ई–सिम जडान भएका स्मार्टफोनको संख्या १ अर्ब पुग्ने अनुमान गरिएको छ । सन् २०२८ सम्ममा भने विश्वभरका आधाजसो स्मार्टफोनहरूमा ई–सिम हुनेछन् । अहिले ई–सिम विश्वभर नयाँ प्रविधि भएकाले यसबारे प्रयोगकर्तामाझ जानकारीको कमी र ई–सिम इन्स्टल गर्दा आइपर्ने प्राविधिक समस्याका कारण यसको प्रयोग उल्लेख्य बढ्न नसकेको उक्त सर्वेक्षणको निष्कर्ष छ । 

हाल नेपालमा उल्लेख्य परिणाममा भौतिक सिमकार्ड आयात हुँदै आएका छन् । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार विगत सात महिनामा नेपालमा १० लाख ७१ हजार ४ सय ८१ थान सिमकार्ड आयात भई ४ करोड ७९ लाख रुपैयाँ बाहिरिएको छ । 

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully