बीपी राजमार्गको डालाबेसीदेखि चार सयबेसी खण्डमा ठेक्का आह्वान

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

Call for contract for Dalabesi to Char Saibesi section of BP Highway

काठमाडौँ — बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ८.५ किलोमिटर खण्डमा मंगलबार ठेक्का आह्वान गरिएको छ । जसको निर्माण अवधि दुई वर्षको हुने सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । बाढीले क्षति गरेको ६ महिनापछि यस खण्डमा स्थायी रुपमा सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । 

‘चार सयबेसीबाट भकुण्डेबेसीको ११ किमि खण्डमा पनि केही दिनभित्रै ठेक्का निकाने तयारीमा छौं,’ उनले भने, ‘डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ३.५ किमि खण्डको ठेक्का लागि तयारी छ, तर यस खण्डको निर्माण गर्न जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई दिने कि भन्ने छ, तर जाइकाबाट कुनै निर्णय भइसकेको छैन ।’

यस खण्डमा जाइकाले काम नगर्ने कुरा आए नेपाल सरकारकै स्रोतबाट बनाउनेगरी ठेक्का आह्वान गरेर प्रक्रिया अघि बढाइने उनले बताए । यसअघि पहिलो चरणमा सिन्धुली खण्डमा स्थायी रुपमा सडक निर्माणका लागि ठेक्का गरि सकिएको छ । ३० दिनको समय तोकेर गत फागुन २८ मा ठेक्का आह्वान गरिएको हो । जहाँ पाँच किमि खण्डमा दुई लेन सडक बनाइनेछ । 

काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण गरिने छ । अहिले बीपी राजमार्गमा बर्खालाई मध्यनजर गर्दै अस्थायी मर्मतको काम भइरहेको सडक विभागले जनाएको छ । क्रमश: गत असोजको बाढिले क्षेती गरेको सडकहरुको स्थायी पुनर्निर्माणका लागि ठेक्का आह्वान गर्दै लगिने सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए । उनका अनुसार चैतभित्र सबै सडकखण्डको ठेक्का गरि सकिने छ ।

कान्तिपुर

Link copied successfully