स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकनका लागि दुई वर्षदेखि विशेषज्ञ खोजेको खोज्यै प्राधिकरण

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

The authority has been looking for an expert for two years to assess the assets of Smart Telecom

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकनका लागि समिति गठन गर्न भन्दै इच्छुक चार्टर्ड एकाउन्टेन्टबाट आशयपत्र दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

स्मार्टको अनुमतिपत्र २०८० वैशाखमै खारेज भए पनि प्राधिकरणले दुई वर्ष भइसक्दा पनि यसको सम्पत्ति व्यवस्थापन तथा मूल्यांकन प्रक्रिया अघि बढाउन  सकेको छैन । आवश्यक योग्यता पुगेका विशेषज्ञहरू प्राप्त नभएको भन्दै प्राधिकरणले पटक–पटक आवेदन आह्वान गर्दै आएको छ ।

सरकारलाई अर्बौँको बक्यौता नबुझाएर र अनुमतीपत्रसमेत नविकरण नगरेपछि स्वत: खारेजीमा परेको स्मार्ट टेलिकमको सम्पत्ति मूल्यांकनका लागि नियामक दूरसञ्चार प्राधिकरणले दुई वर्ष भइसक्दा पनि मूल्य निर्धारण समिति गठन गर्न नसकेको हो । प्राधिकरणले आफ्नो अधिनमा लिएको स्मार्टको सम्पत्ति मूल्यांकन गर्न विगत दुई वर्षदेखि कहिले मूल्यांकनकर्ता, कहिले चार्टर्ड एकाउन्टेन्ट, कहिले दूरसञ्चार विज्ञको खोजी गर्दै पटक-पटक सूचना निकालिरहेको छ ।   

अहिले सम्बन्धित योग्यता पुगेका चार्टर्ड एकाउन्टेन्टहरूलाई समिति सदस्यका रूपमा सहभागी हुन प्राधिकरणले पुन: आग्रह गरेको छ । चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक योग्यता हासिल गरी कम्तीमा १० वर्ष लेखापरीक्षणसम्बन्धी कार्य अनुभव भएका व्यक्तिहरूले आवेदन दिन सक्नेछन् । 

‘मूल्य निर्धारण समिति गठन गर्नका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र योग्यता तथा अनुभव भएका व्यक्तिहरूबाट ७ दिनभित्र सिलबन्दी आशयपत्र दर्ता गर्नु हुन यो सूचना पुन: प्रकाशन गरिएको छ,’ प्राधिकरणले सूचनामा भनेको छ । 

सो सूचनाअनुसार इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा व्यक्तिगत विवरणसहित प्रमाणित कागजातहरू पेस गर्नुपर्नेछ । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ मा मूल्य निर्धारण समितिको व्यवस्था छ । सरकारले नियमावली संशोधन गरेर 'प्राधिकरणको परामर्शमा नेपाल सरकारले मूल्य निर्धारण समिति गठन गर्नेछ’ उल्लेख गरेसँगै यसैलाई देखाएर प्राधिकरणले आफूलाई समिति गठन गर्ने पूर्ण अधिकार नभएको  उल्लेख गर्दै आएको छ ।  

योग्यता पुगेका भ्यालुएटर प्राप्त नभएको भन्दै यसअघि प्राधिकरणले निजी भ्यालुएटरमार्फत मूल्यांकन गरिने प्रतिबद्धता पनि जनाएको थियो । 

स्मार्ट टेलिकमको टावर राखेका घरधनी, स्मार्टका रिचार्ज कार्ड व्यवसायी र कम्पनीका पूर्व कर्मचारीहरू आ-आफ्ना मर्का लिएर पटक-पटक प्राधिकरणसामू धर्नामा उभिने गरेका छन् ।

फागुन दोस्रो साता धर्नामा आएका पीडितसँग छलफल गर्दै प्राधिकरण अध्यक्ष भूपेन्द्र भण्डारीले मूल्यांकन समिति गठन गरी प्रक्रिया अघि बढाउनु आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका थिए । उनले यो विषयलाई चाँडै टुंगोमा पुर्‍याउने दाबी पनि गरेका थिए । स्मार्ट टेलिकम खारेज भएर सरकारको नियन्त्रणमा आएपछि आफूहरू निरन्तर मर्कामा परेको भन्दै प्राधिकरण घेराउ गर्न पुगेकाहरूको समूहलाई अध्यक्ष भण्डारीले एक सातापछि नै समस्या टुंगो लगाउने आश्वासन दिएका थिए । 

कान्तिपुर

Link copied successfully