पोखरामा ‘फेवा नववर्ष महोत्सव’ 

महोत्सवमा आउने पाहुनालाई होटलमा २० प्रतिशत छुट

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

”Fewa New Year Festival” in Pokhara

पोखरा — नेपाली नयाँ वर्षको अवसरमा होटल संघ पोखरा नेपालको आयोजनामा चैत ३० देखि वैशाख १ सम्म २०औं फेवा नव वर्ष महोत्सव हुने भएको छ । संघले सोमबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सव सम्पन्न गर्न विभिन्न समिति र उपसमिति गठन गरी काम अगाडि बढाएको जानकारी दिएको हो । 

महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा संघअन्तर्गतका सदस्य होटलमा रात बिताउने पाहुनालाई प्रचलित दररेटमा २० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे । संघले महोत्सवकै प्रचारका लागि हालै पूर्वी नेपालमा ‘जाऔं है पोखरा’ अभियान सम्पन्न गरेको र पश्चिम नेपालमा पनि यस्तो अभियान छिटै सञ्चालन गरिने जानकारी उनले गराए ।

‘दुई दशक अघिसम्म पोखरा घुम्न आउने आन्तरिक पर्यटक तीन प्रतिशत मात्रै थिए,’ उनले भने, ‘जाऔं है पोखरा अभियान र फेवा नववर्ष महोत्सव जस्ता कार्यक्रमकै कारण हाल ४० प्रतिशत पुगेको छ ।’ उनका अनुसार पोखराका होटलमा अहिले पाहुनाको समग्र अकुपेन्सी दर ४० प्रतिशत पुगेको छ । भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रहेको उनले बताए । पोखराका १ हजार २ सय होटलमा ४० हजार पर्यटक क्षमता रहेको र यहाँको होटल क्षेत्रमा मात्र ५ खर्ब रुपैयाँ हाराहारी लगानी रहेको संघको आंकलन छ ।   

लेकसाइडको डामसाइडदेखि खहरेसम्म सडकमा नै सञ्चालन हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित यो महोत्सव हुन लागेको संघका महासचिव राजेन्द्र ढकालले जानकारी दिए । रैथाने र परम्परागत खानाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र खेलकूदका कार्यक्रम, पर्यटक दौड, पप कन्सर्ट, कृषि र हस्तकलाका सामग्रीको प्रदर्शनी र लोकदोहोरीका कार्यक्रम महोत्सवका प्रमुख आकर्षण रहने छन् । 

पर्यटकीय राजधानी पोखरामा ‘पोखरा भ्रमण वर्ष २०२५’ चल्दै गर्दा हुन लागेको यो महोत्सवले फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं वाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य पनि लिएको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षर् पनि उत्तिकै उल्लासका साथ मनाउने र यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्रायले महोत्सव आयोजना गरिएको महासचिव ढकालले बताए । सांस्कृतिक झाँकीसहित लेकसाइडको अम्मटमा महोत्सवको उद्घाटन कार्यक्रम हुने छ । महोत्सवलाई पोखरा महानगरपालिका, होटल संघ नेपाल, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले सघाउने छन् । 

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले फेवा महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भनाइ राखे । आयोजक संघको सल्लाहकार परिषद्का सदस्य एवं होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले सकारात्मक माहोलले पर्यटनलाई अगाडि बढाउन मद्दत पुग्ने बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully