नवलपुर — ७५ प्रतिशत अनुदान पाउने भएपछि पूर्वी नवलपरासीमा चैते (हिउँदे) धान खेतीतर्फ किसान आकर्षित भएका छन् । सिँचाइको सुविधा भएका क्षेत्रमा दुई-तीन वर्षयता चैते धान लगाउने किसानको संख्या बढ्दो छ । असारमा लगाइने धानको तुलनामा चैते धानको उत्पादन बढी हुने र अनुदान पनि पाइने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
जिल्लाको देवचुली, गैंडाकोट, कावासोती, मध्यबिन्दु नगरपालिका, विनयी त्रिवेणी गाउँपालिकाका किसानलाई अहिले धान रोप्ने चटारो छ ।
पहाडी भेगका स्थानीय तहमा समेत चैते धान खेती विस्तार हुँदै गएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ संजय ढकालले बताए । ज्ञान केन्द्रले तोकेको पकेट क्षेत्रमा बिउ, कृषि उपकरण र सिँचाइका लागि ७५ प्रतिशतसम्म किसानलाई अनुदान दिने गरेको छ । चालु आर्थिक वर्षमा मात्र चैते धानको विस्तारका लागि १ करोड १० लाख रुपैयाँ अनुदान रकम विनियोजन छ ।
गत वर्ष ५३ हेक्टर क्षेत्रफलमा ६ हजार २ सय ५० मेट्रिक टन धान उत्पादन भएकामा चालु आर्थिक वर्षमा करिब ४५ हेक्टर क्षेत्रफल बढ्ने आकलन गरिएको छ ।
विज्ञहरूका अनुसार असारमा लगाइने धान प्रतिहेक्टर करिब ४ मेट्रिक टन उत्पादन हुन्छ भने चैते धान प्रतिहेक्टर ६ मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ ।
