पहुँच मार्गसँगै बस्तीसमेत जोखिममा, चालु आर्थिक वर्षमा पुलको काम ठप्प
कञ्चनपुर — महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको ६ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन । बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी पुलको पहुँचमार्ग भत्काएर बस्तीमै पस्ने जोखिम बढेको छ ।
गत भदौ अन्तिम साता महाकालीको बाढी गाइडबन्ड भत्काएर पुलछेउमै निर्माण भइरहेको पोखरीमा पसेको थियो । ‘महाकालीमा अब दुई महिना मात्रै काम गर्न सकिन्छ, अहिलेसम्म निर्माण गर्ने सुरसार छैन,’ भीमदत्त नगरपालिका–१२ का पूर्ववडाध्यक्ष कृष्णसिंह देउवाले भने, ‘कम्तीमा बाढीले भत्काएको ठाउँमा गाइडबन्ड बनाइदिनुपर्छ भन्ने हाम्रो माग छ । त्यो बनाउन नसके पहुँचमार्ग भत्काएर बाढी बस्ती पस्ने जोखिम हुन्छ ।’
२०७८ कात्तिकमा महाकालीमा हालसम्मकै ठूलो बाढी आएको थियो । त्यतिबेला महाकालीको जलस्तर ५ लाख ४७ हजार क्युसेक पुगेको थियो । बाढीले निर्माणाधीन पक्की पुलको पहुँचमार्ग भत्काएको थियो । गत भदौमा पनि महाकालीमा ४ लाख ६१ हजार क्युसेक बाढी पुगेको थियो । बाढीले पुलछेउमा निर्माण गरिएको पोखरीको गाइडबन्डको करिब दुई मिटर भत्काएको हो ।
‘कम्तीमा भत्काएको स्थानमा काम गर्ने वातावरण बनाइदिनुपर्यो भनिरहेका छौं,’ महाकाली पुल निर्माणमा संलग्न कम्पनीले कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भने, ‘अब पनि काम सुरु गर्न नसके बर्खामा जोखिम निम्तिन सक्छ ।’ गाइडबाटै बाढी पोखरीमा पसेर पहुँचमार्गसमेत भत्काएर बस्ती छिर्ने जोखिम रहेको उनले बताए । भीमदत्त र दोधारा चाँदनी नगरपालिका जोड्ने गरी महाकाली नदीमा निर्माण गरिएको चार लेनको पुलको लम्बाइ ८ सय मिटर छ । नदीको चौडाइ भने २ किलोमिटर छ । नदीका दुवैतर्फ ६/६ सय मिटर चौडाइ र २८ सय मिटर लम्बाइका पोखरी बनाइन लागेको हो ।
पोखरीको छेउमा नदी किनारमा ग्याबिन जाली र प्लम्ब कंक्रिटसहितको गाइडबन्ड बनाउने डिजाइन गत वर्ष चैतमा स्वीकृत भएको थियो । डिजाइन स्वीकृत भए पनि भेरिएसन नभएकै अवस्थामा निर्माण कम्पनीले गाइडबन्ड बनाएको थियो । तर बाढीले भत्काएपछि भुक्तानीसमेत नपाइने अवस्था आएको छ । तत्काल काम सुरु नगरे भत्केको स्थानमा समेत गाइडबन्ड बनाउन गाह्रो हुने इन्जिनियर पाण्डेयले बताए ।
पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी करिब ९५ प्रतिशत काम भइसकेको छ । अब दुई सय मिटर पहुँचमार्ग कालोपत्र सँगै गाइडबन्डको काम मात्रै बाँकी छ ।
पछिल्लो पटक गाइडबन्डको डिजाइन परिवर्तन गरेर विभागमा पठाइएको महाकाली पुल योजनाका इन्जिनियर सन्तोष चन्दले जनाए । ‘विभागबाट स्वीकृत भएपछि काम गर्ने बाटो खुल्छ, अबको एक साताभित्र डिजाइन र भेरिएसन भएर आउने आशा छ,’ उनले भने, ‘त्यसपछि तत्काल काम अगाडि बढाउने गरी निर्माण कम्पनी पनि तयारी अवस्थामा छ ।’
भेरिएसन भएपछि पुलको लागत ४ अर्बभन्दा बढी पुग्ने अनुमान गरिएको छ । २०७४ मा ३ वर्षभित्र निर्माण सक्ने गरी ३ अर्ब २७ करोडमा कुमार श्रेष्ठ सीएफईसी जेभीसँग सम्झौता भएको थियो ।
