मंगलबारदेखि पोखरा–छेन्दु नियमित उडान

चैत्र ३, २०८१

रासस

Pokhara-Chhendu regular flight from Tuesday

काठमाडौँ — नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । 

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ । 

'पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई सुन्दर सहर पोखराको अवलोकनको अवसर प्रदान गर्नेछ', बोर्डले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ,'हवाई सम्पर्कले चीन सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२५’ र नेपाल सरकारले घोषणा गरेको ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई टेवा पुर्‍याउँदै नेपालमा अन्तरराष्ट्रिय पर्यटकको आगमन वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।'

छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’का लागि जानेछ । नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ । 

'यी प्रयासले नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्नाका साथै दुवै देशका पर्यटन क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउन भूमिका खेल्नेछ', बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले यस ऐतिहासिक पहललाई सफल बनाउन सहयोग गर्ने सिचुआन एयरलाइन्स, सिचुआन प्रान्तीय सरकार, पोखरा पर्यटन परिषद् र सबै सरोकार भएकाहरूप्रति आभार व्यक्त गरेको छ । साथै यस कार्यले सांस्कृतिक आदान–प्रदानलाई अझ सघन बनाउनुका साथै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न थप सहयोग हुने बोर्डले अपेक्षा गरेको छ ।

रासस

Link copied successfully