नागढुंगा सुरुङमार्गमा फेरि स्थानीयको अवरोध, काम ठप्प

चैत्र ३, २०८१

कान्तिपुर संवाददाता

On the Nagadhunga tunnel again, the locals obstructed, the work stopped

काठमाडौँ — निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीयले ठप्प पारेका छन् । खानेपानी लगायतका माग अघि सार्दै चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले आइतबारदेखि निर्माणको काममा अवरोध गरेका हुन् ।

आयोजनाका अनुसार अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प बनेको छ । स्थानीयको पटक-पटकको अवरोधले गर्दा आयोजना निर्माणले गति लिन सकेको छैन । स्थानीयले आफ्ना मागहरु पूरा नगरेसम्म काम गर्न नदिने अडान लिएका छन् । सुरुङको मुख अगाडि मागसहितको ब्यानरसमेत टाँगिएको छ ।

नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार काम रोकिएको र स्थानीयसँग छलफल गरेर समाधानको उपाय निकाले प्रयास भइरहेको छ । यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले कामा अवरोध गरेका थिए । 

निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी आयोजनाको छ । तर पटकपटक काममा अवरोध हुँदै आएको छ ।

२०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८६ प्रतिशत काम सकिएको छ । मुख्य सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । अहिले सुरुङभित्र लाइटिङ, क्रंक्रिट सडक निर्माण र बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा छ ।

कान्तिपुर संवाददाता

Link copied successfully