काठमाडौँ — उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारलाई राजस्व उठाएर खर्च धान्न सकस परेकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व संशोधन विधेयक ल्याउनुपरेको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले राजस्वले खर्च धान्न धौधौ भएका कारण चालु आर्थिक वर्षको विनियोजनमा अनिवार्य दायित्वका शीर्षकमा समेत न्यून बजेट विनियोजन गरिएको बताए । उनले ३१ प्रतिशत राजस्व उठाउने लक्ष्य राखेको भए पनि अनिवार्य दायित्वअन्तर्गतका शीर्षकमा न्यून बजेट विनियोजन गरिएको बताए । यस्तो अवस्थामा बजेट निर्माणमा बिलम्ब गर्न नहुने उनको भनाइ थियो ।
उनले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनुपर्ने अभिभारालाई गम्भिरतापूर्वक महसुस गर्नुपर्छ भन्ने मर्ममा उभिएर सरकारले संशोधन विधेयक अघि सारेको स्पष्ट पारे । ‘राजस्वले हाम्रो साधारण खर्च धौधौ भइरहेको अवस्था छ । यस्तो अवस्थामा हामीले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनका लागि बिलम्ब भइसकेको छ । हामीले बिलम्ब गर्नु हुँदैन,' उनले भने, 'अब हामीले बजेट निर्माण गर्दा अनुशासनतर्फ फर्किनुपर्ने अभिभारालाई गम्भिरतापूर्वक महसुस गर्नुपर्छ भन्ने मर्ममा उभिएर यो संशोधन विधेयक आएको कुरा म निवेदन गर्न चाहन्छु ।'
उनले चालु आर्थिक वर्षमा विकास निर्माणका थप ११ हजार योजना थपिएकै कारण ती योजनाहरुको सुनिश्चितता गर्न गाह्रो भएको समेत उल्लेख गरे ।
