हुम्लामा ताजा तरकारीका लागि नेपालगन्ज र सुर्खेतको भर पर्नुपर्ने बाध्यता टर्यो, रोकियो जहाजबाट तरकारी ढुवानी
सुर्खेत,कालीकोट — सिमकोट गाउँपालिका–७ की सीता रोकायाको भान्सामा टमाटर, मूला, हरियो साग, काउली, केराउलगायत तरकारी पाक्छ । सिमकोट बजारमा रोकाया होटल सञ्चालन गरिरहेकी उनी ग्राहकलाई ताजा तरकारी खुवाउन सक्छिन् । ‘एक त जहाजको उडानै नहुने, उडान भए पनि सामान मात्रै ल्याउन नमान्ने,’ उनले भनिन्, ‘नेपालगन्ज र सुर्खेतमा ५० रुपैयाँमा किन्नुपर्ने तरकारी १ सय २० सम्म भाडा तिरेर ल्याउनुपर्ने बाध्यता थियो । कहिले त हप्ता/दस दिनमा पनि तरकारी नआउने अवस्था थियो ।’
सिमकोट गाउँपालिका–२ ठेहेकी ढुग्मा बोहोराले ५ वर्षदेखि प्लास्टिक टनेलमा विभिन्न बेमौसमी तरकारी उत्पादन गरिरहेकी छन् । कात्तिकदेखि हुम्लामा हिमपातसँगै चिसो बढे पनि उनको घर नजिकैका प्लास्टिक टनेलमा हरियो साग, काउली, बन्दा, टमाटरलगायत तरकारी हुर्किरहेका छन् । उत्पादन भएको आधा तरकारी बिक्री गरिसकेकी बोहोराले यो सिजनमा मात्रै ४० हजार रुपैयाँ आम्दानी गरिन् । उनकी छिमेकी भूमा भण्डारीको बारीमा पनि काउली, टमाटरलगायत तरकारी फलेको छ ।
समुद्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको सिमकोट र आसपासका गाउँका महिला केही वर्षयता बेमौसमी तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । ठेहेमा व्यावसायिक तरकारी खेतीको लहर नै चलेको छ । त्यहाँका दुई दर्जन महिला तीन घण्टा हिँडेर सदरमुकाम सिमकोटमा आई तरकारी बिक्री गर्छन् ।
पाँच वर्षअघिसम्म नेपालगन्ज र सुर्खेतबाट जहाजमार्फत ल्याइएको तरकारीले सदरमुकाम सिमकोटको माग धानिएको थियो । हुम्लामा गत चैतमा मात्र सडक यातायात सुविधा पुगेको हो । तर सडक यातायात भरपर्दो नहुँदा सामान ढुवानीका लागि जहाजकै भर छ । तर अहिले तराईमा उत्पादन भएको केही फलफूल आए पनि तरकारी आउने क्रम पूरै रोकिएको स्थानीय प्रेम लामाले बताए । नेपालगन्जबाट जहाजमार्फत ढुवानी गरिएको तरकारीका कारण हुम्लामा महँगीसमेत बढेको थियो ।
‘ढुवानी भाडा महँगो भएका कारण तरकारी प्रतिकिलो २ सय ५० रुपैयाँ घटी कुनै पनि थिएन, त्यसमा पनि सधैं बासी तरकारी खानुपर्ने बाध्यता, कहिले त जहाजले समयमै ढुवानी नगर्दा आधा तरकारी कुहिएकै आइपुग्थ्यो,’ उनले भने ।
अहिले बुरौसिय, हिल्दुम, बरगाउँ, लाङ्दु, तोर्पा, लिमाटाङ, दोजाम, छिप्रालगायत गाउँमा तरकारी खेतीको लहर चलेको लामाको भनाइ छ । अहिले प्रायः तरकारी सिमकोट बजारमा प्रतिकिलो डेढ सय रुपैयाँसम्ममा पाइने सिमकोटका व्यापारी नन्दु बुढाले बताए ।
समुद्र सतहबाट झन्डै ३ हजार ४ सय मिटर उचाइमा रहेको मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पापुगाउँमा अहिले धान फल्न थालेको छ । ‘अत्यधिक चिसोले पहिले त वर्षमा एक बाली उवा मात्र फल्थ्यो, तातो बढ्न थालेपछि हाम्रो गाउँमा ५/६ वर्षयता वर्षायाममा पाखेधान पनि लगाउन थालेका छौं,’ स्थानीय छिरिङदोर्जे लामाले भने । समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको रोवा, भामबाडा, पिनालगायत गाउँमा अहिले टमाटर, खुर्सानी, बन्दा र काउली फल्ने गरेको उनको भनाइ छ ।
हिमालतिर गर्मी चढेपछि अहिले कोदो, फापर र उवा पनि छिटो पाक्न थालेको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । पहिले जुम्लाबाट मार्सीधान ल्याएर चाडपर्व मनाउने स्थानीयले अहिले चिनामुरी, ठूलीधान, भुवालो, धोग्रो, रतालोलगायत जातको पाखेधान आफैं उत्पादन गर्न थालेका छन् । ‘धेरै चिसो हुने भएकाले पहिले बाली पाक्न कम्तीमा १० महिना लाग्थ्यो, बढ्दो गर्मीले अहिले जेठ–असारमा लगाएको कोदो कात्तिकमै टिप्न थालिएको छ,’ उनले भने, ‘नफलेका अन्नदेखि खुर्सानी, टमाटर र काउलीसम्म गाउँमा फल्न थालेपछि स्थानीय खेतीपातीमा उत्साही भएका छन् ।’ पालिकाले यो वर्ष किसानलाई रैथाने बाली र तरकारी खेतीमा व्यावसायिक बनाउन झन्डै १ करोड रुपैयाँ छुट्याएको छ ।
मुगुको खत्याड–८ का गणेश गिरीले आफ्नो बगैंचामा आँप फलाइरहेका छन् । आँप बेचेर उनले गत वर्ष ८० हजार रुपैयाँ कमाए । सुकाढिककै टक्क डाँगरले पनि बारीमा १५ बोट आँप लगाएका छन् । त्यसमध्ये ५ वटा बोटले उत्पादन दिइरहेका छन् । आँप स्थानीय बजारमा प्रतिदाना २० रुपैयाँमा बिक्री हुने गरेको छ । समुद्री सतहदेखि करिब १ हजार ९ सय मिटरको उचाइको सुकाढिकमा तराईमा उत्पादन हुने अनार, अम्बा र केरासमेत फल्न सुरु गरेको छ ।
स्थानीयले बारीमा आँप, अनार, केरालगायत फलफूल उत्पादन हुन थालेपछि बर्सेनि नेपालगन्ज, दाङ र सुर्खेत गएर फलफूलका बेर्ना खरिद गर्ने गरेका छन् । साविक कर्णालीका पाँच जिल्लामध्ये मुगुको सुकाढिक गाउँमा मात्र आँप फल्ने गरेको स्थानीय स्वास्थ्यकर्मी टक्क डाँगरले बताए । ‘हाम्रो गाउँमा आँप पाक्छ भन्दा कसैले पत्याउँदैनन्,’ उनले भने, ‘यहाँ आएर देखेपछि भने दंग पर्छन् ।’
रैथाने बाली लोप हुँदै तराईमा फल्ने तरकारी र फलफूल खेतीले हिमाली बस्तीमा उत्पादन हुन थालेको कृषि वैज्ञानिक रमेश शर्माले बताए । ‘यसले तत्कालका लागि स्थानीयको आवश्यकता पूरा गरे पनि क्रमशः रैथाने बालीमैत्री माटोको उर्वरामा ह्रास ल्याउँछ,’ उनले भने, ‘अहिले हिमालमा हाइब्रिड जातका तरकारी र फलफूल लगाइएका छन्, जसले तराईका बालीमा लाग्ने रोगकिराको प्रकोप पनि स्थानान्तरण हुने जोखिम निम्त्याएको छ ।’
जलवायु परिवर्तनको असरले अन्नबालीमा बिउको जात परिवर्तन हुने, खेतबारीमा उर्वरा शक्तिमा ह्रास आउने, मौसमअनुकूल किराले बालीमा क्षति पुर्याउनेलगायत कारण हिमाली बस्तीमा रैथाने बाली संकटमा परेको उनको भनाइ छ । कर्णालीको जैविक विविधता अन्य प्रदेशभन्दा फरक रहेको वातावरणविज्ञ अर्जुन आचार्यले जनाए । ‘यहाँ सालदेखि स्याउका बिरुवा एकै ठाउँमा हुर्किरहेका छन्, अन्नपात र फलफूल पनि तराईदेखि हिमालसम्मका एकै ठाउँमा छन्,’ उनले भने ।
