बीपी राजमार्गको सिन्धुली खण्ड पुनर्निर्माणको ठेक्का लाग्यो

पाँच किलोमिटर दूरीको यस खण्डमा दुई लेन सडक बनाइने, ठेक्का प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने, काभ्रे खण्डको ठेक्का पनि केही दिनभित्रै लगाउने तयारी 

चैत्र १, २०८१

विमल खतिवडा

Contract awarded for reconstruction of Sindhuli section of BP highway

काठमाडौँ — बाढीले क्षति पुर्‍याएको ६ महिनापछि बीपी राजमार्गको सिन्धुली खण्ड निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । ३० दिनको समय तोकेर बुधबार ठेक्का आह्वान गरिएको हो । पाँच किलोमिटरको खण्डमा दुई लेन सडक बनाइनेछ । 

ठेक्का प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने सडक डिभिजन खाल्टे, सिन्धुलीका प्रमुख पारसमणि हमालले बताए । नेपालथोक–बर्खेखोला खण्डमा सडक निर्माण गर्ने गरी ठेक्का गरिएको हो । ‘बर्खाअघि ठेक्का सम्झौता गरेर निर्माण व्यवसायी निर्माणस्थलमा परिचालन हुनेछन्,’ हमालले भने, ‘निर्माण भने बर्खापछि मात्र सुरु हुन्छ ।’ बर्खाअघि निर्माण व्यवसायीले तयारीका सबै काम सक्ने उनको भनाइ छ । 

‘अहिले सामान्य बाढी आउँदा सडक चलाउने गरी अस्थायी मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘ठाउँ–ठाउँमा ग्याबिन वाल लगाइँदै छ ।’ काभ्रे खण्डको ठेक्का पनि केही दिनभित्रमै लगाउने तयारी रहेको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘अब धेरै ढिला गर्दैनौं, ठेक्का गर्न सडक विभागमा लागत अनुमान पेस गरिसकेका छौं,’ हमालले भने, ‘त्यो स्वीकृत हुनासाथ ठेक्का आह्वान हुन्छ ।’

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई पर्खिंदा ढिलाइ भए पनि अब ठेक्का गर्न नरोकिने उनले जनाए । ‘जाइकाबाट अहिलेसम्म केही निर्णय आएको छैन,’ उनले भने, ‘अब पर्खिएर ढिला गर्दैनौं, ठेक्का प्रक्रिया अघि बढाउँछौं ।’ काभ्रेमा तीन र सिन्धुलीमा एकसहित चार प्याकेज बनाएर निर्माणको काम अघि बढाइने योगेशले जनाए । 

दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का आह्वान गरिने योगेशको भनाइ छ । काभ्रे खण्डमा २३ किमि सडक बनाइनेछ । ‘काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण हुन्छ,’ उनले भने, ‘निर्माणका लागि स्रोत सहमति पाइसकेका छौं ।’ बाढीले क्षति गरेको भकुन्डेबेसीदेखि नेपालथोक सडक खण्डको स्थायी निर्माण गरिनेछ । सवारी चाप बढी भएको बीपी राजमार्गमा छिटो सक्ने गरी नै निर्माणको काम गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता भीमार्जुन अधिकारीले बताए । 

‘सिन्धुलीतर्फ ठेक्का भइसकेको छ, काभ्रे खण्डको ठेक्का गर्ने अन्तिम तयारी छ,’ उनले भने । लामो समयसम्म स्रोत नपाउँदा ठेक्का प्रक्रियाको काम अघि बढ्न सकेको थिएन । अर्थ मन्त्रालयले बीपी राजमार्गलाई प्राथमिकतामा राखेर गत फागुन ६ मा स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । 

राजमार्गको स्थायी रूपमा निर्माण र मर्मत गर्न सडक डिभिजन भक्तपुर र खाल्टेमार्फत रकम माग गरिएको थियो, जसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो । काभ्रे भन्ज्याङ–नेपालथोक खण्डमा बाढीपहिरोले बढी क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । क्षति भएको सबै खण्ड गरेर २८ किमि सडकलाई स्थायी रूपमा निर्माण गर्न लागिएको हो । 

बाढीले क्षति गरेको अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक स्थायी रूपमा निर्माण गर्न बजेट माग गरिएको थियो । त्यहीअनुसार अर्थबाट १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ स्रोत सहमति सडक विभागले पाएको हो । जसअनुसार राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ स्रोत सहमति आएको हो । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully