‘नेपालको औद्योगिक क्षेत्रको भविष्य सौर्य ऊर्जा, ऊर्जा भण्डारण र डिकार्बनाइजेसनमा निर्भर छ’

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

The future of Nepal's industrial sector depends on solar energy, energy storage and decarbonisation.

काठमाडौँ — नेपालको औद्योगिक क्षेत्रको दिगो भविष्यका लागि सौर्य ऊर्जा, ऊर्जा भण्डारण समाधान र डिकार्बनाइजेसनमा जोड दिन अपरिहार्य रहेको सरोकारवालाहरूले औँल्याएका छन् ।

हुवावे डिजिटल पावर नेपालले नेपाल उद्योग परिसंघ (सीएनआई) सँगको सहकार्यमा आयोजना गरेको ‘सौर्य पीभी र ऊर्जा स्टोरेज संवाद’ मा वक्ताहरूले स्वच्छ ऊर्जा प्रविधिलाई प्राथमिकता दिन आवश्यक रहेको धारणा राखेका हुन् । 

काठमाडौंको हात्तीसारस्थित हुवावे प्रदर्शनी केन्द्रमा भएको कार्यक्रममा ऊर्जा, व्यवसाय तथा औद्योगिक क्षेत्रका ८० भन्दा बढी प्रतिनिधिहरूले नेपालको हरित ऊर्जा प्रवर्द्धनका सम्भावना र रणनीतिहरूबारे विचार विमर्श गरेका थिए । कार्यक्रममा सौर्य फोटोभोल्टिक प्रणाली र ऊर्जा भण्डारण समाधानहरूबारे छलफल गरिएको थियो । 

कार्यक्रममा हुवावेले आफ्नो ‘फ्युजन सोलार सी एन्ड आई ओएसिस सोलुसन’ अनावरण गरेको थियो । यसमा उच्च क्षमताका ऊर्जा भण्डारण प्रणालीहरू समावेश छन् । यी प्रविधिहरू नेपाली उद्योगलाई ऊर्जा लागत घटाउन र आपूर्तिको विश्वसनीयता सुधार गर्न उपयोगी हुने कम्पनीको दाबी छ । हुवावे नेपालका सीईओ जिम हुआङले नेपालको ऊर्जा भविष्यबारे आशावादी दृष्टिकोण प्रस्तुत गरे । ‘हामी सहकार्य र नवीनतामार्फत दिगो समाधानहरू अपनाएर कार्बन फुटप्रिन्ट घटाउने तथा हरित ऊर्जा प्रणाली निर्माण गर्ने लक्ष्यमा स्पष्ट छौं,’ उनले भने । 

नेपाल उद्योग परिसंघका ऊर्जा विकास परिषद्का अध्यक्ष आशिष गर्गले नेपालको औद्योगिक क्षेत्रको भविष्य सौर्य ऊर्जा, ऊर्जा भण्डारण समाधान र डिकार्बोनाइजेसनमा निर्भर रहेको बताए । परिसंघकै वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले भने, ‘नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न हुवावे र स्थानीय उद्योगबीचको सहकार्य महत्त्वपूर्ण छ ।’ 

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठ, एनएमबी बैंकका दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल, विद्युत नियमन आयोगका सदस्य मधुसूदन अधिकारी लगायतले पनि आफ्ना विचार प्रस्तुत गरेका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully