बाढीले क्षतिग्रस्त मान्डु हाइड्रोपावरको पुनर्निर्माण अन्तिम चरणमा

चैतको अन्तिमसम्म विद्युत् उत्पादन गर्ने

फाल्गुन २८, २०८१

प्रताप विष्ट

Reconstruction of flood-damaged Mandu Hydropower in final stages

हेटौंडा — गत असोज ११ र १२ गतेको अविरल वर्षाले बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको मान्डु हाइड्रोपावरको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

क्षतिग्रस्त मान्डु हाइड्रोपावरको ७७ प्रतिशत पुनर्निर्माण कार्य सकिएको छ। बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावरको पुनर्निर्माण कार्य सकेर आगामी चैतको अन्तिम सातासम्म विद्युत् पुनः उत्पादन गर्ने योजना रहेको छ।

हाइड्रोपावरको विभिन्न क्षेत्रमा पुनर्निर्माणका लागि प्राविधिक र कामदार गरेर सय जना भन्दा बढी विगत दुई महिनादेखि काममा खटिएका छन्। क्षतिग्रस्त पावर हाउसको रेट्रोफिटिङको कार्य सम्पन्न भइसकेको छ। पावर हाउस भित्र उपकरणहरू जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ।

पेनस्टक पाइपको मर्मत तथा सुरुङमा पसेको बालुवा र लेदो निकाल्ने कार्य अन्तिम चरणमा पुगेको मान्डु हाइड्रोपावरका वरिष्ठ प्राविधिक मनोज सिंहले बताएका छन्। 'बागमती खोलाको क्षतिग्रस्त बाँधको मर्मत गर्ने कार्य सम्पन्न भइसकेको छ,' उनले भने, 'बिहान उज्यालो भएदेखि अबेर रातिसम्म मर्मतसम्भार कार्य गरिरहेका छौँ।'

पहिरोले मकवानपुरस्थित भीमफेदी गाउँपालिका-८ बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत् उत्पादन गर्दै आएको मान्डु हाइड्रोपावरको हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप, विद्युत्को टावरमा क्षति पुर्‍याएको थियो।

२०७५ सालदेखि २२ मेगावाट विद्युत् उत्पादन गर्दै आएको हाइड्रोपावरको बागमतीको बाढीले करिब १ अर्ब भन्दा बढी क्षति पुर्‍याएको प्रमुख सञ्चालक अधिकृत सुन्दर श्रेष्ठले बताएका छन्। 'बागमतीमा आएको बाढीले हाइड्रोपावरलाई कल्पनै नगरेको क्षति पुर्‍यायो,' उनले भने, 'त्यसको मर्मत सम्भार कार्य अन्तिम चरणमा पुगेको छ।' 

सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो। मान्डु हाइड्रोले सडकको मर्मतसम्भार गरेर आयोजनास्थलसम्म पुग्ने बाटो खोल्यो। बागमती नदीमा आएको बाढीले ६०० मिटर पेनस्टकमध्ये सय मिटर पेनस्टक पाइप क्षतिग्रस्त बनाएको थियो।

Reconstruction of flood-damaged Mandu Hydropower in final stages

'पेनस्टक पाइपको काम पनि सकिएको छ,' प्राविधिक सिंहले भने, '२ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङमा बालुवा र लेदो पसेर क्षति पुर्‍याएको थियो, बालुवा र लेदो झिक्ने काम पनि सकिएको छ।'

काठमाडौंबाट फोहोर बटुल्दै बगेको बागमती खोलाको पानीबाट मकवानपुरको भीमफेदी गाउँपालिका-८ ईपापन्चकन्याको वगरबेसीस्थित विद्युत् गृहबाट विद्युत् उत्पादन हुँदै आएको थियो।

निजी क्षेत्रको मान्डु हाइड्रोपावर कम्पनी र चाइनिज कम्पनी संयुक्त लगानीमा बागमतीको पानीबाट विद्युत् उत्पादन गरिएको थियो। सिच्वाङ हेइच्वाङ चाइनिज कम्पनीको सहयोगमा मान्डु हाइड्रोपावर कम्पनीले चार अर्बको लगानीमा बागमती साना जलविद्युत आयोजना निर्माण कार्य २०७२ जेठबाट सुरु गरेको थियो।

२०७५ साल चैत १९ गते उक्त आयोजनाको उद्घाटन गरिएको थियो। बागमती र कोगटेको पानी ईपापन्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध बनाएर सुरुङमार्फत ईपापन्चकन्याको वगरबेसीस्थित पावर हाउसमा पुर्‍याएर विद्युत् उत्पादन हुँदै आएको थियो।

बागमतीमा निर्माण गरिएको ५५ मिटर लामो बाँधलाई बाढीले क्षति पुर्‍याएको थियो। बाँधको पुनर्निर्माण कार्य सकिएको छ। उक्त बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलब ४ क्युसेक पानी बग्ने गर्छ।

बागमतीमा निर्माण गरिएको बाँधबाट पावर हाउस (विद्युत् गृह) २ हजार ४ सय ४० मिटरको दूरीमा छ। उक्त हाइड्रोपावरको नेपाली प्राविधिक र नेपाली मजदुरहरूले सुरुङ खन्ने, बाँध निर्माण, पेनस्टक पाइप जडान गर्ने स्थल निर्माण गरिएको थियो। अहिले मर्मत कार्य पनि नेपाली प्राविधिक र कामदारहरूले गरिरहेका छन्।

उत्पादित विद्युत् मान्डु हाइड्रोपावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रति युनिट ४ रुपैयाँ ४० पैसामा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विक्री गर्ने सम्झौता गरेको थियो।

प्रताप

Link copied successfully